अमेरिकामा टोर्नाडोका कारण १४ जनाभन्दा बढीको मृत्यु
प्रकाशित मिति : चैत्र २, २०८१ शनिबार

अमेरिकाका विभिन्न राज्यहरूमा आएको भीषण टोर्नाडोका कारण १४ जनाभन्दा बढीको मृत्यु भएको छ। टोर्नाडोले सबैभन्दा बढी मिसौरीमा क्षति भएको छ, जहाँ अहिलेसम्म ११ जनाले ज्यान गुमाएका छन्।
टोर्नाडोको कारण सवारी साधनहरू पल्टाउने, घरहरू भत्काउने र विद्युत् सेवामा समेत अवरोध पुगेको छ ।
यस्तै, ओक्लाहोमा, अर्कान्सास, र टेक्सासमा पनि यसले क्षति पुर्याएको छ । टेक्सासमा एक कार दुर्घटनामा तीन जनाको ज्यान गएको छ, जुन भीषण धूलोसहितको टोर्नाडोको कारण भएको बताइएको छ। मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मिसौरी, इलिनोइस, इन्डियाना, टेक्सास र अर्कान्सास गरी पाँच राज्यहरूमा २ लाखभन्दा बढी मानिसहरू विद्युत् सेवाबाट बञ्चित बनेका छन् ।
शनिबार मध्य मिसिसिपी, पूर्वी लुइसियाना, र पश्चिमी टेनेसीमा टोर्नाडोको उच्च जोखिम रहेको बताइएको छ। राष्ट्रिय मौसम सेवाले यी क्षेत्रमा ‘तीव्र र हिंस्रक लामो-ट्र्याक टोर्नाडोहरू’ आउने चेतावनी जारी गर्दै यसलाई विशेष रूपमा खतरनाक अवस्था रूपमा उल्लेख गरेको छ ।
अधिकारीहरूले नागरिकहरूलाई सतर्क रहन, सुरक्षित स्थानमा बस्न र कुनै पनि आपत्कालीन अवस्थाका लागि तयार रहन आग्रह गरेका छन्।
तस्बिर : सांकेतिक