तत्काल रोकिने छैन हुथीहरूविरुद्ध अमेरिकी आक्रमण !


प्रकाशित मिति : चैत्र ३, २०८१ आईतबार

अमेरिकाले यमनका हुथीहरूलाई आक्रमण गर्न निरन्तरता दिने बताएको छ। आइतबार अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले जबसम्म हुथी समूहले पानीजहाजमाथि आक्रमण बन्द गर्दैन, तबसम्म अमेरिकी सैन्य कारबाही जारी रहने बताएका हुन् ।

शनिबार गरिएको अमेरिकी हवाई आक्रमणमा कम्तीमा ३१ जना मारिएका छन् । यो राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ ग्रहण गरेपछि सञ्चालन गरिएको सबैभन्दा ठूलो सैन्य अभियान भएको बताइएको छ। अमेरिकी अधिकारीहरूका अनुसार यो अभियान हप्तौँसम्म जारी रहन सक्छ।

यस आक्रमणलाई हुथी समूहले ‘युद्ध अपराध’को संज्ञा दिँदै ‘तनावलाई तनावले नै सामना गर्ने’ चेतावनी दिएको छ। रूसले अमेरिकालाई आक्रमण रोक्न आग्रह गरेको छ।

हुथी समूहले गत हप्ता यदि इजरायलले गाजामा मानवीय सहायता प्रवेश गर्न नदिने नाकाबन्दी हटाएन भने, उनीहरूले समुद्र हुँदै जाने इजरायली पानीजहाजहरूमा आक्रमण पुन सुरु गर्ने चेतावनी दिएको थियो ।

२०२३ को अन्त्यतिर हामास-इजरायल युद्ध सुरु भएयता, हुथीहरूले गाजाका प्यालेस्टिनीहरूसँग ऐक्यबद्धता जनाउँदै पानीजहाजमाथि निरन्तर आक्रमण गर्दै आएका छन्।

अमेरिकी रक्षा मन्त्री हेगसेथले भने, ‘जब हुथीहरूले भन्छन् हामी अब पानीजहाज र ड्रोनमा आक्रमण गर्दैनौं, तब मात्र यो अभियान रोकिनेछ।’ उनले इरानलाई पनि चेतावनी दिँदै भने, ‘इरानले हुथीहरूलाई लामो समयदेखि समर्थन गरिरहेको छ। अब पछाडि हट्नु राम्रो हुनेछ।’

यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई तुरुन्तै हुथीहरूलाई समर्थन गर्न रोक्न चेतावनी दिएका छन्। उनले भने, ‘यदि इरानले संयुक्त राज्य अमेरिकालाई धम्की दियो भने, अमेरिका तपाईंलाई पूर्ण रूपमा जिम्मेवार ठहराउनेछ र हामी यसलाई सजिलै लिने छैनौँ !’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com