अमेरिकाले क्यानडाको अर्थतन्त्रमाथि आक्रमण गरेको प्रधानमन्त्री कार्नीको आरोप


प्रकाशित मिति : चैत्र ३, २०८१ आईतबार

क्यानाडाका नवनियुक्त प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाको सार्वभौमिकता र अर्थतन्त्रमाथि आक्रमण गरेको आरोप लगाएका छन ।

ट्रम्पले क्यानाडाको सार्वभौमिकताको सम्मान गरेमा मात्रै भेट्न तयार रहेको कार्नीले बताए ।

कार्नीले अहिले अमेरिका भ्रमण गर्ने योजना नरहेको तर ट्रम्पसँग टेलिफोन वार्ता हुनसक्ने बताए ।

पच्चीस प्रतिशतको व्यापक भन्सार महसुल र क्यानाडालाई ५१ औँ अमेरिकी राज्य बनाउने ट्रम्पको धारणाले क्यानाडालीहरूलाई अमेरिकाप्रति क्रोधित बनाएको देखिएको छ । धेरैले सकेसम्म अमेरिकी सामान किन्न नखोजेको देखिन्छ ।

कार्नीको सरकारले अमेरिकामा निर्मित एफ–३५ लडाकू विमानको खरिदको समीक्षा गरिरहेको छ ।

टोरन्टो विश्वविद्यालयका क्यानाडाली इतिहास र अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक रोबर्ट बोथवेलले कार्नीले ट्रम्पलाई भेट्न नजानु बुद्धिमानी हुने बताए ।

क्यानाडाको ७५ प्रतिशतभन्दा बढी निर्यात अमेरिकामा जान्छ । आर्कटिक सार्वभौमिकता पनि क्यानाडाको लागि प्रमुख मुद्दा हो ।

राष्ट्रपति ट्रम्पको क्यानाडा र ग्रिनल्यान्ड दुवैको बारेमा आक्रामक कुरा र ट्रम्पअन्तर्गत एक शक्तिशाली आर्कटिक शक्ति रुस र अमेरिकाबीचको स्पष्ट निकटनताले चिन्ता भने बढाएको क्यानडाले अनुभूति गरेको छ ।

यहि चिन्ताकाबीचमा क्यानडाका प्रधानमन्त्रीले फ्रान्स र बेलायतको भ्रमण गर्दैछन । उनले त्यहाँ रहँदा अमेरिकासँग सम्वन्ध विग्रदै गएपछि बेलायत र फ्रान्ससँग मित्रताको हात बढाउन कोशिस गर्ने देखिन्छ ।

उन्साठ्ठी वर्षीय पूर्व केन्द्रीय बैंकरले पेरिसमा सोमबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग भेट गर्नेछन ।

त्यसपछि उनी लन्डन जानेछन । लन्डनमा बेलायती प्रधानमन्त्री किर स्टार्मरसँग बसेर व्यापार विविधीकरण र सम्भवतः ट्रम्पको भन्सार महसुल लगाएतका विषयमा कुराकानी हुने अपेक्षा गरिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com