अमेरिकाले यमनमा हुथी बिरुद्ध गरेको हमलामा मारिनेको संख्या ५३ पुग्यो, अधिकतम संयमता अपनाउन राष्ट्रसंघको आग्रह
प्रकाशित मिति : चैत्र ३, २०८१ आईतबार

अमेरिकाले यमनमा हुथी विद्रोही बिरुद्ध गरेको हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ । जसमा ५ बालबालिका पनि समावेश रहेका विद्रोही नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अमेरिकाले शनिबार हुथी लक्षित ‘निर्णायक र शक्तिशाली’ हवाई आक्रमण सुरु गरिएको बताएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले रेड सी मा अमेरिका र उसका सहयोगी जहाजमाथि हुथी विद्रोहीले गरेको आक्रमणका कारण अमेरिकाले प्रतिरोध गरेको बताएका छन ।
अमेरिकाले हुथी समूहका प्रमुख व्यक्तिहरु मारिएका बताएको छ । तर हुथी विद्रोहीहरुले भने अमेरिकी भनाईलाई पुष्टि गरेका छैनन ।
हुथी नेता अब्दुल मलीक अल हौतीले अमेरिकाले आक्रमण जारी राख्ने हो भने उनीहरूले पनि रेड सी मा अमेरिकी जहाजलाई आक्रमण जारी राख्ने बताएका छन ।
हुथी नियन्त्रित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनिस अल असबहिले एक्स प्लेटफर्ममा अपडेट जारी गर्दै ५३ जनाको मृत्यु भएको बताएका छन । मृतक मध्ये ५ बालबालिका र २ महिलाहरू रहेका छन । घटनामा ९८ जना घाइते भएका छन् ।
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले हुथीहरुले आक्रमण नरोक्दासम्म अमेरिकाले निरन्तर हमला गरिरहने बताए । हुथीहरुले इजरायलले गाजा क्षेत्रको नाकाबन्दी नहटाउँदासम्म रेड सी मा आक्रमण जारी राख्ने चेतावनी दिएका छन ।
इरान समर्थित विद्रोही समूह हुथीले इजरायललाई आफ्नो दुश्मन ठान्छ । राजधानी साना र यमनको उत्तर पश्चिम भागमा उनीहरुको नियन्त्रण छ । तर यो अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकार भने होइन ।
हुथीहरूले इजरायल र हमासबीच गाजा युद्धमा प्यालेस्टाइन समर्थनमा काम गर्दै आएको बताएका छन् । उनीहरुले इजरायल, अमेरिका तथा बेलायतसँग सम्वन्धित जहाजलाई नै निशाना बनाउदै आएका छन ।
नोभेम्बर २०२३ देखि हुथीहरूले रेड सी र अदेन खाडीमा दर्जनौं व्यापारी जहाजहरूलाई हमला गर्न सुरु गरेका हुन । आक्रमणको घोषणा गर्दै ट्रम्पले उद्देश्य पूरा नभएसम्म हुथी बिरुद्ध आक्रमण जारी राख्ने बताएका थिए ।
संयुक्त राष्ट्रसंघका महासचिव एंटोनियो गुटेरेसले यमनमा भइरहेका सबै सैन्य गतिविधिहरूलाई तत्काल रोक्न र अधिकतम संयमता अपनाउन सबैलाई आह्वान गरेका छन्।