रुसले भन्यो : युक्रेनलाई नेटोको सदस्यता नदिने प्रतिबद्धता चाहियो
प्रकाशित मिति : चैत्र ३, २०८१ आईतबार

रुसले युक्रेनलाई नेटोको सदस्यताबाट बाहेक गराउनु पर्ने बताएको छ । शान्ति सम्झौतामा युक्रेनलाई तटस्थ देशको रुपमा राखिनु पर्ने रुसले बताएको हो ।
रुस र युक्रेनबीच चलिरहेको युद्धलाई अन्त्य गर्न अमेरिकाले थालेको शान्तिवार्ताको क्रममा रुसको आफनो अडान सार्वजनिक भएको हो ।
रुसका उपविदेश मन्त्री अलेक्जेन्डर ग्रुष्कोले नेटोका सदस्य देशहरुबाट युक्रेनलाई अलग राख्ने र उसलाई तटस्थ देशको रुपमा राखिएमा रुस युद्धविरामको लागि तयार हुने बताएका हुन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषदूतसँग कुराकानी गरेपछि रुसी राष्ट्रपति भोलोदिमिर पुटिनले शान्ति वार्ताप्रति सकारात्मक भएको तर कतिपय विषयमा भने थप छलफल आवश्यक रहेको बताएका थिए ।
रुसले युक्रेनको तटस्थ स्थिति हुनु पर्छ र नेटो देशहरूले यसलाई संगठनमा समावेश नगर्नुपर्ने रुसले बताएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रूसी समकक्षी भ्लादिमिर पुटिनको बीचमा आगामी दिनहरूमा कुराकानी हुने अपेक्षा गरिएको छ ।
युक्रेनमा तीन वर्षदेखि चलिरहेको युद्धको सम्भावित युद्धविरामको विषयमा वार्ता भने उनीहरुकाबीचमा चलिरहेको छ । अमेरिका र युक्रेनले रूससँग ३० दिने युद्धविराम प्रस्ताव गर्न सहमति गरेका छन् ।
विवादको एक प्रमुख क्षेत्र भनेको रूसको पश्चिमी कूर्स्क क्षेत्र हो । युक्रेनले गत अगस्टमा त्यहाँ सैनिक आक्रमण गरेको थियो । त्यसपछि युक्रेनले रुसको केही भूभाग कब्जा गरेको थियो ।
पुटिनले रूस कूर्स्कमा पूर्ण नियन्त्रणमा फर्किएको र युक्रेनी सेना त्यहाँ घेरिएको दावी गरेका छन । तर युक्रेनले यसलाई झुटो दावी भनिरहेको छ ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेंस्कीले पुटिनमाथि शान्तिवार्ता प्रयासहरू विफल बनाउनको लागि कोशिस गरिरहेको आरोप लगाएका छन ।
अमेरिकी दूत स्टीव विटकोफले बिहीबार मस्कोमा पुटिनसँग भेट गरेका थिए ।
चुनावी अभियानका क्रममा ट्रम्पले बारम्बार २०२२ मा रूसको पूर्ण स्तरीय आक्रमणबाट सुरु भएको युद्धलाई नयाँ प्रशासनको पहिलो दिनमै समाप्त गर्ने प्रतिबद्धता जनाएका थिए ।