ट्रम्पको नेतृत्वमा युक्रेनले न्यायपूर्ण र दिगो शान्ति प्राप्त गर्न सक्छ : विदेशमन्त्री सिबिहा


प्रकाशित मिति : चैत्र ५, २०८१ मंगलबार

युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिहाले किभ रूससँगको शान्ति सम्झौताको लागि बाधा नभएको बताएका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा न्यायपूर्ण र दीर्घकालीन शान्ति प्राप्त गर्न सकिने विश्वास रहेको बताए ।

नयाँ दिल्लीमा आयोजित वार्षिक भू-राजनीतिक सम्मेलनमा बोल्दै उनले ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको वार्तापछि शान्ति प्रक्रियाबारे स्पष्टता आउने आशा रहेको बताए।

राष्ट्रपति ट्रम्पले पुटिनलाई ३० दिने युद्धविराम प्रस्तावमा सहमत गराउने प्रयास गरिरहेका छन् । जुन युक्रेनले गत साता स्वीकार गरिसकेको छ। यद्यपि, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको सार्वभौमिकता कुनै हालतमा सम्झौतामा नराख्ने बताएका छन्।

“हामी शान्ति प्रक्रियामा कुनै बाधक होइनौँ”, उनले भने, “हामी रुसी पक्षबाट बिना सर्त युद्धविरामको स्वीकारोक्ति अपेक्षा गर्छौँ।”

यसैबीच, राष्ट्रपति ट्रम्पले मंगलबार बिहान पुटिनसँग युक्रेन युद्ध अन्त्यका लागि छलफल गर्ने बताएका छन्। वार्तामा कीभद्वारा केही भूभागको हस्तान्तरण तथा जापोरिज्जिया आणविक ऊर्जा केन्द्रको नियन्त्रण जस्ता विषयहरू महत्त्वपूर्ण हुन सक्ने अनुमान गरिएको छ।

उनले मस्कोले युद्धलाई निरन्तरता दिन चाहने आरोप लगाउँदै भने, “युक्रेनले कहिल्यै आफ्ना कुनै भूभागलाई रुसी कब्जामा स्वीकार गर्ने छैन।”

युक्रेनको ऊर्जा पूर्वाधार २०२२ मा रुसी आक्रमणपछिदेखि लगातार निशानामा पर्दै आएको छ। यसले लाखौँ नागरिकहरूलाई अन्धकार र कठ्याङ्ग्रिने चिसो मौसमको सामना गर्न बाध्य बनाएको छ।

युक्रेनले यसको जवाफमा रुसी तेल प्रशोधन केन्द्र, पम्पिङ स्टेसन र तेल तथा ग्यास निर्यातका लागि प्रयोग गरिने बन्दरगाहहरूमा लामो दूरीका ड्रोन हमला गर्दै आएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com