ट्रम्पसँगको टेलिफोन संवादपछि क्रेमलिनले भन्यो – ३० दिनको युद्धविराम प्रस्ताव स्वीकार
प्रकाशित मिति : चैत्र ५, २०८१ मंगलबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित ३० दिनको युद्धविराम योजनालाई स्वीकार गरेका छन् ।
क्रेमलिनले दिएको जानकारी अनुसार जस अनुसार रूस र युक्रेनले एक-अर्काको ऊर्जा संरचनामा आक्रमण रोक्नेछन्। यस सम्बन्धमा पुटिनले रुसी सेनालाई आवश्यक आदेश दिएको क्रेमलिनले जनाएको छ।
क्रेमलिनका अनुसार पुटिन र ट्रम्पबीच युक्रेनको परिस्थितिबारे विस्तृत र स्पष्ट छलफल भएको थियो।
फोन वार्ताका क्रममा पुटिनले युद्धको समाधान “सम्पूर्ण, दिगो र दीर्घकालीन” हुनुपर्ने बताउँदै रूसको सुरक्षा चासो र युद्धका वास्तविक कारणहरूलाई ध्यानमा राख्नुपर्ने बताएका थिए।
वार्तामा दुई राष्ट्रपतिबीच अमेरिकाले प्रस्ताव गरेको ३० दिनको युद्धविरामबारे गहन छलफल भएको थियो । उक्त प्रस्तावलाई युक्रेनले गत हप्ता स्वीकृति दिइसकेको छ ।
क्रेमलिनका अनुसार पुटिनले युद्धविरामको निगरानी तथा युक्रेनले यसलाई थप सैनिक परिचालन र हतियार संकलनका लागि प्रयोग नगर्ने सुनिश्चितताबारे “महत्त्वपूर्ण बुँदा” उठाएका थिए।
“संघर्षलाई थप नबढाउने र कूटनीतिक समाधानतर्फ उन्मुख हुन प्रमुख सर्त भनेको विदेशी सैन्य सहायता पूर्ण रूपमा रोक्ने र कीभलाई गुप्तचर जानकारी उपलब्ध गराउने कार्य बन्द गर्नु हो”, क्रेमलिनले भन्यो ।