आइसले पक्राउ गरेका खलीललाई लुइजियाना जेलमा नराख्न ट्रम्प प्रशासनलाई अदालतको आदेश


प्रकाशित मिति : चैत्र ६, २०८१ बुधबार

अमेरिकी अदालतले प्यालेस्टिनी विद्यार्थी मोहम्मद खलीललाई लुइजियाना जेलमा नराख्न ट्रम्प प्रशासनलाई आदेश दिएको छ ।

अदालतले खलील सम्बन्धित मुद्धालाई न्यू जर्सीमा स्थानान्तरण गर्न निर्देशन दिएको छ । अमेरिकी स्थायी वासिन्दा रहेका खलील कोलम्बिया विश्वविद्यालयका विद्यार्थी हुन ।

उनलाई आप्रवासन अधिकारीहरुले ८ मार्चमा पक्राउ गरेका थिए । सन २०२४ मा गाजामा भइरहेको युद्धको विरोध प्रर्दशनमा सहभागिता जनाएको आरोप लगाउदै ट्रम्प प्रशासनले डिपोर्ट गर्ने तयारी गरेको थियो ।

खलीललाई न्यूयोर्कबाट पक्राउ गरि लुइजियानाको बन्दीगृहमा पठाइएको थियो ।

मंगलबार उनले बन्दीगृहबाट पठाएको पत्रमा आफूलाई राजनीतिक बन्दी भन्दै सरकारले अनावश्यक रुपमा आफूलाई निशाना बनाएको बताएका छन ।

आप्रवासन र सीमा सुरक्षा आईसका अधिकारीहरूले उनलाई विश्वविद्यालय स्वामित्वको म्यानह्याटन अपार्टमेन्टमा गिरफ्तार गरेका थिए ।

तुरुन्तै उनलाई न्यू जर्सीको आप्रवासन केन्द्रमा राखेका थिए । पछि उनलाई लुइजियानाको जेना स्थित बन्दीगृहमा स्थानान्तरण गरिएको थियो ।

ट्रम्प प्रशासनले न्यूयोर्क अदालतसँग खलीलको चुनौती खारेज गर्न वा लुइजियानामा सार्नको लागि अनुरोध गरेको थियो ।

बुधबार जिल्ला न्यायाधीश जेसी फरम्यानले ट्रम्प प्रशासनको प्रयास अस्वीकृत गर्दै मुद्दा लुइजियानामा पठाउनुको सट्टा न्यू जर्सीमा सार्न आदेश दिए ।

न्यायाधीशले १० मार्चको आदेशलाई पनि कायम राखेका छन् । उक्त आदेशमा खलीलको डिपोर्टेशनलाई रोकिएको छ । अमेरिकी न्याय मन्त्रालयले यो निर्णयमाथि कुनै टिप्पणी गरेको छैन ।

महोमद खलीलका वकिल समाह सिसायले सरकार उनलाई लुइजियानामा स्थानान्तरण गर्न चाहेको बताएका छन ।

अमेरिकी नागरिक रहेकी खलीलकी श्रीमती आठ महिनाकी गर्भवती छिन् ।

उनका वकिलहरूले प्यालेन्टाइनको पक्षमा र इजरायललाई समर्थन गर्ने अमेरिकी नीतिविरुद्ध प्रदर्शन गरेर आफ्नो स्वतन्त्र भाषणको अधिकार खलीलले प्रयोग गरेका बताएका छन ।

उनीहरूले सरकारले विद्यार्थी सक्रियता र राजनीतिक भाषणको खुल्ला दमन गरेको आरोप लगाएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आतंकवादीप्रति सहानुभूति देखाउने विदेशी विद्यार्थीलाई डिपोर्ट गरिने बताउदै आएका छन । मोहम्मद खलीललाई कुनै अपराधको आरोप भने लगाइएको छैन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com