अमेरिकाले युक्रेनका पावर प्लान्टहरूमा सुरक्षा दिने


प्रकाशित मिति : चैत्र ७, २०८१ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका पावर प्यान्टहरुलाई सुरक्षा दिने प्रतिबद्धता जनाएका छन ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेंस्कीसँगको फोन वार्ताको क्रममा उनले अमेरिकी सरकारले युक्रेनका पावर प्लान्टहरूको सुरक्षा सुनिश्चित गर्न तिनीहरूको नियन्त्रण लिन सक्ने बताएका हुन ।

अमेरिकाले ती प्लान्टहरू सञ्चालन गर्नमा धेरै मद्दत गर्न सक्छ,” ट्रम्पले जेलेन्स्कीलाई भनेका छन ।

विदेश मन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जको बुझाइमा ट्रम्प र जेलेन्स्कीबीचमा निक्कै सकारात्मक कुराकानी भएको छ ।

अमेरिकी स्वामित्वले ती संरचनाहरुका लागि सबैभन्दा राम्रो सुरक्षा दिनसक्ने ट्रम्पले बताएका हुन । वार्ताका क्रममा जेलेंस्कीले थप प्याट्रियट रक्षा मिसाइल प्रणालीहरूको लागि अनुरोध गरेका थिए ।

रुबियो र वाल्ट्जले ट्रम्पले युक्रेनको साथमा काम गर्ने सहमति जनाएका बताएका छन । ट्रम्प र जेलेंस्की बीचको यो वार्ता ट्रम्प र रूसी समकक्षी भ्लादिमिर पुटिनसँग वार्ता भएकै दिन भएको हो ।

क्रेमलिनका अनुसार पुटिनले ट्रम्प समक्ष कुनै पनि सम्झौतामा विदेशी सैन्य सहायता र गुप्तचर जानकारी दिन युक्रेनलाई रोकिनु पर्ने शर्त राखेका थिए ।

तर ह्वाइट हाउसका प्रेस सचिव करोलिन लेविटले युक्रेनको रक्षाका लागि गुप्तचर सुचना दिने कार्य जारी रहने बताइन । वार्तामा ट्रम्पले स्पष्ट रूपमा युद्धलाई छिटो अन्त्य गर्नु नयाँ प्रशासनको प्राथमिकता हो भनेर जेलेन्स्कीलाई बताएका थिए ।

युक्रेनी र अमेरिकी नेताहरूले गत महिनाको अन्त्यमा अमेरिकाको ओभल हाउसमा गरेको वार्ता तनावपूर्ण बनेपछि ट्रम्पले युक्रेनलाई दिदै आएको गुप्तचर जानकारी र सैन्य सहायता अस्थायी रूपमा रोकेका थिए ।

युद्धको सुरुवातदेखि अहिले सम्म अमेरिकाले युक्रेनलाई १८० अर्ब डलरभन्दा बढीको सैन्य र आर्थिक सहायता पठाइसकेको बताएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com