पाँच लाख भन्दा बढी आप्रवासीलाई अमेरिका छोड्न ट्रम्प प्रशासनको आदेश


प्रकाशित मिति : चैत्र ८, २०८१ शुक्रबार

अमेरिकी ट्रम्पको प्रशासनले क्युबा, हैटी, निकारागुवा र भेनेजुएलाबाट पुगेका ५ लाख भन्दा बढी आप्रवासीहरूको अस्थायी कानूनी अधिकार खारेज गरेको छ ।

अस्थायी कानूनी अधिकार खारेज गरिएका ति आप्रवासीलाई अमेरिका छोड्न सचेत गराइएको संघीय सरकारको सूचनामा उल्लेख गरिएको छ ।

यी ५ लाख ३० हजार आप्रवासीलाई बाइडन प्रशासनको कार्यकालमा शुरू गरिएको सीएचएनभी नामक प्रायोजन प्रक्रियामा बैधता दिइएको थियो ।

यसको उद्देश्य कानूनी आप्रवासनका लागि पहल गर्नु रहेको थियो । तर ट्रम्पले पदभार सम्हाल्नासाथ यस्ता खालका कार्यक्रमलाई स्थगित गरे ।

ति आप्रवासीमध्ये कतिले अस्थायी कानूनी अधिकार प्राप्त गर्न सकेका छन् भन्ने यकिन छैन । यो कार्यक्रम डेमोक्रेटिक राष्ट्रपति जो बाइडनको कार्यकालमा २०२२ मा सुरू भएको थियो ।

यो कार्यक्रमले पहिले भेनेजुएलाका नागरिकलाई समेटेको थियो । तर पछि अन्य देशहरूमा पनि यो कार्यक्रम विस्तार गरिएको थियो।

यो कार्यक्रमले आप्रवासी र तिनका परिवारका सदस्यलाई अमेरिकी स्पोन्सर भएको खण्डमा अमेरिकामा उडान भर्न र अस्थायी आप्रवासनको रुपमा दुई वर्षसम्म बस्न अनुमति दिन्थ्यो ।

बाइडन प्रशासनले सीएचएनभी ले अमेरिकी दक्षिणी सीमामा अवैध सीमा पार गर्ने घटनामा कमी ल्याउने अपेक्षा गरेको थियो ।

यसले अमेरिकामा प्रवेश गर्ने व्यक्तिहरूको राम्रो संग जाँच गर्न मद्दत पुर्याउने रहेको थियो । तर, डीएचएसले यो कार्यक्रम आफ्ना उद्देश्यहरू पुरा गर्नमा असफल भएको बताएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com