भेनेजुएलाद्वारा आप्रवासीहरूको स्वदेश फिर्ती उडान पुनः सुरु गर्न अमेरिकासँग सम्झौता
प्रकाशित मिति : चैत्र १०, २०८१ आईतबार

भेनेजुएलाले संयुक्त राज्य अमेरिकासँग सम्झौता गर्दै आप्रवासी पुनः स्थापनाका उडानहरू पुनः सुरु गर्ने निर्णय गरेको छ। राष्ट्रपति निकोलस माडुरोले शनिबार टेलिभिजन सम्बोधनमार्फत यो जानकारी दिएका हुन्।
माडुरोका अनुसार यी उडानहरू आइतबारदेखि सञ्चालन गरिनेछ। उनले भने, “सरकारको निरन्तर प्रयासका कारण हामी अमेरिकी जेलहरूमा रहेका आप्रवासीहरूको उद्धार तथा मुक्त गर्न उडान पुनः सुरु गर्दैछौं।”
यो निर्णय अमेरिका र भेनेजुएलाबिच उत्पन्न पछिल्लो कूटनीतिक तनावका बीच आएको हो। केही समययता अमेरिका भेनेजुएलाली आप्रवासीहरूलाई एल साल्भाडोरमा निर्वासित गर्दै आएको थियो।
राष्ट्रपति माडुरोले एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेललाई यस विषयमा कठोर चेतावनी दिँदै भने, “हाम्रा नागरिकहरूले अमेरिका वा एल साल्भाडोरमा कुनै अपराध गरेका छैनन्। तपाईँ उनीहरूको स्वास्थ्यको ग्यारेन्टी गर्नुपर्छ र ढिलो–चाँडो मुक्त गरेर भेनेजुएलालाई जिम्मा लगाउनुपर्छ।”
ट्रम्प प्रशासनको अमेरिकी निर्वासन कार्यक्रम अन्तर्गत सयौँ भेनेजुएलाली आप्रवासीहरूलाई एल साल्भाडोरको जेलमा पठाइएको थियो। अमेरिकाले उनीहरूलाई भेनेजुएलाको कुख्यात ‘ट्रेन डे अरागुआ’ गिरोहसँग सम्बन्धित भएको आरोप लगाएको छ। तर, भेनेजुएलाको आन्तरिक मन्त्रालयले उक्त आरोपलाई अस्वीकार गर्दै ती आप्रवासी निर्दोष रहेको जनाएको छ।
यसैबीच, अमेरिकी जिल्ला न्यायाधीश जेम्स बोस्बर्गले अमेरिकाबाट एल साल्भाडोरमा निर्वासन रोक्न अस्थायी आदेश दिएका थिए। अब ट्रम्प प्रशासनले मार्च २५ भित्र यसबारे स्पष्ट विवरण दिनुपर्नेछ।