क्यानडाली प्रधानमन्त्री कार्नीद्वारा आगामी अप्रिल २८ मा संघीय निर्वाचनको घोषणा


प्रकाशित मिति : चैत्र १०, २०८१ आईतबार

क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले आगामी अप्रिल २८ मा संघीय निर्वाचन गराउने घोषणा गरेका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अन्यायपूर्ण व्यापार नीति’ र ‘क्यानडाको सार्वभौमिकतामाथि दिएको चुनौती’ का कारण आफ्नो सरकारलाई बलियो जनमत आवश्यक परेको बताएका छन्।

ट्रम्प प्रशासनद्वारा क्यानडामाथि लगाइएका नयाँ व्यापारिक नीतिहरू र ट्यारिफका कारण दुई देशबीचको सम्बन्धमा गिरावट आएको छ। ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउन चाहेको आरोप कार्नीले लगाएका छन्।

हालै मात्र प्रधानमन्त्री बनेका कार्नीले आइतबार भने, “हामी हाम्रो जीवनकालकै गम्भीर संकटको सामना गरिरहेका छौँ। राष्ट्रपति ट्रम्पले क्यानडालाई टुक्र्याउन चाहन्छन् ताकि अमेरिका हामीलाई आफ्नो बनाउन सकोस्। हामी त्यसो हुन दिने छैनौँ।”

उनको यो घोषणापछि क्यानडामा राष्ट्रियता र स्वाधीनताको विषय झनै चर्चामा आएको छ। पछिल्ला जनमत सर्वेक्षणहरू अनुसार, कार्नीको नेतृत्वमा रहेको लिबरल पार्टीको लोकप्रियता उल्लेखनीय रूपमा बढेको देखिएको छ।

यसअघि सन् २०१५ देखि सत्तामा रहेको लिबरल पार्टीको समर्थन यो वर्षको सुरुवातमा निकै घटेको थियो। तर, ट्रम्पको कडा व्यापारिक नीतिहरू र जस्टिन ट्रुडोको राजीनामापछि लिबरल पार्टी पुनः मजबुत हुँदै गएको देखिन्छ।

चुनावको मिति घोषणा गरेसँगै कार्नीले मध्यमवर्गीय नागरिकहरूलाई राहत दिन न्यूनतम आयकर दरमा कटौती गर्ने योजना सार्वजनिक गरेका छन्। चुनावमा कन्जरभेटिभ नेता पिएर पोइलियाभ्रेलाई कडा चुनौती दिँदै कार्नीले क्यानडाको आर्थिक स्थायित्व र सुरक्षा आफ्नो प्रमुख प्राथमिकता भएको बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com