टर्कीमा राष्ट्रपति एर्दोगानका मुख्य प्रतिस्पर्धी भ्रष्टाचारको आरोपमा पक्राउ
प्रकाशित मिति : चैत्र १०, २०८१ आईतबार

टर्कीमा विपक्षी नेतालाई पक्राउ गरिएको छ । राष्ट्रपति रेजेप ताइप एर्दोगानका मुख्य प्रतिस्पर्धीको रुपमा रहेका एकेरेम इमामओग्लुलाई पक्राउ गरिएको हो ।
उनी इस्तानबुलका मेयर हुन । उनलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको औपचारिक जानकारी दिइएको छ ।
रिपब्लिकन पीपुल्स पार्टी का तर्फबाट २०२८ का राष्ट्रपति उम्मेदवारको रूपमा चयन हुने संभावना रहेका इमामओग्लुलाई पक्राउ गरिएको हो । पक्राउ परेको विपक्षी नेताले आफू बिरुद्ध लगाइएको आरोपलाई अस्वीकार गरेका छन ।
आरोपहरू राजनीतिक रुपमा प्रेरित रहेको भन्दै उनले कहिल्यै नझुक्ने बताएका छन । उनको गिरफ्तारीले १० वर्षमा सबैभन्दा ठूलो प्रदर्शनको शुरुवात गरेको छ ।
एर्दोआनले प्रदर्शनहरूलाई निन्दा गर्दै शान्ति विथोल्न र जनतालाई विभाजित गर्न खोजिएको आरोप लगाएका छन ।
उनलाई अनुसन्धानका लागि भनेर हिरासतमा राखिएको छ । उनलाई सिलिभ्रीको एक कारागारमा लगिएको छ ।
इमामओग्लुलाई मेयरको पदबाट पनि निलम्बित गरिएको टर्कीको आन्तरिक मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।
सोशल मिडिया पोस्टहरूमा इमामओग्लु ले आफ्नो गिरफ्तारीलाई लोकतन्त्रमा कालो दाग भन्दै आलोचना गरेका छन । उनले न्यायिक प्रक्रिया पालन नगरिएको बताएका छन ।
उनले देशभरिका मानिसहरूलाई प्रदर्शनमा सहभागि हुन र आइतवारको मतदानमा भाग लिन आग्रह गरे । इस्तानबुलको नगर भवन नजिक जम्मा भएका प्रर्दशनकारीहरुले टर्कीको झण्डा देखाउदै प्रदर्शन गरेका थिए ।
संविधान संशोधन नगर्दासम्म एर्दोआन २०२८ मा पुनः चुनाव लड्न पाउदैनन । विपक्षका नेताहरूले गिरफ्तारीलाई राजनीतिक रूपले प्रेरित भएको भन्दै आरोप लगाएका छन् ।
तर न्याय मन्त्रालयले एर्दोगानलाई गिरफ्तारीसँग जोड्ने व्यक्तिहरूलाई आलोचना गर्दै यसले न्यायिक स्वतन्त्रता कायम राखेको दावी गरेको छ ।