अमेरिकाले दिएको धम्कीबाट नडराउने इरानको प्रतिकृया, अप्रत्यक्ष आणविक वार्ताका लागि भने तयार
प्रकाशित मिति : चैत्र ११, २०८१ सोमबार

अमेरिकासँग अप्रत्यक्ष आणविक वार्ताका खुल्ला रहेको इरानले बताएको छ । तर प्रत्यक्ष वार्ताको संभावना भने तत्काल नरहेको इरानले अमेरिकालाई बताएको छ ।
विदेशमन्त्री अब्बास अराघचीले इरानलाई हेर्ने अमेरिकी दृष्टिकोणमा सुधार नआउँदासम्म प्रत्यक्ष वार्ताको संभावना नरहेको बताएका हुन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आणविक सम्झौताका लागि वार्ता गर्न माग गर्नुभएपछि इरानले आफनो धारणा बाहिर ल्याएको हो ।
इरानले धम्की ‘अधिकतम दबाब’ को नीति अमेरिकाले कायम राख्दा सम्म अमेरिकासँग प्रत्यक्ष वार्तामा संलग्न नहुने प्रष्ट पारेको हो ।
राष्ट्रपतिका रूपमा आफ्नो पहिलो कार्यकालमा ट्रम्पले सन् २०१८ मा इरानको आणविक कार्यक्रममा भएको ऐतिहासिक सम्झौताबाट अमेरिकालाई फिर्ता लिएका थिए ।
अमेरिकासहितका पश्चिमी देशहरूले लामो समयदेखि इरानलाई आणविक हतियारको खोजी गरेको आरोप लगाएका छन् ।
उक्त आरोपलाई इरानले भने अस्वीकार गर्दै आएको छ ।
मार्च ७ मा ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्ला अली खामेनीलाई आणविक वार्ताको आह्वान गर्न र तेहरानले अस्वीकार गरेमा सम्भावित सैन्य कारबाहीको चेतावनी दिएका थिए ।
खामेनीले अमेरिकी धम्कीहरू बाट विचलिन नहुने बताएका छन । अराघचीले ट्रम्पको पत्र ‘धेरै धम्कीपूर्ण’ भएको तर यसले केही अवसरहरू पनि खोल्न सक्छ भनेका छन ।
मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभन विटकफले एक अन्तर्वार्तामा ट्रम्पको लक्ष्य इरानसँग विश्वास निर्माण गरेर सैन्य द्वन्द्वबाट बच्नु रहेको दावी गरेका छन ।
इरानको सन् १९७९ को इस्लामिक क्रान्तिले पश्चिमी समर्थित शाहलाई अपदस्थ गरेपछि इरान र अमेरिकाले कूटनीतिक सम्बन्ध तोडेका थिए ।