टर्कीमा हिंसा भड्काउन विपक्षी पार्टीहरुले खोजेको राष्ट्रपति एर्दोगानको आरोप
प्रकाशित मिति : चैत्र १२, २०८१ मंगलबार

टर्कीका राष्ट्रपति तैयब एर्दोगानले विरोधी राजनीतिक दलहरूलाई हिंसात्मक आन्दोलनका लागि नागरिकलाई उक्साउन खोजेको आरोप लगाएका छन् ।
एर्दोगानको विरोधमा देशभर छैठौ दिनमा पनि प्रर्दशन जारी रहेका बेला उनले विपक्षी दलका बिरुद्ध यो आरोप लगाएका हुन ।
गत बुधबार इस्तानबुलका मेयर एक्रेम इमामोघ्लुलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएपछि टर्कीमा आन्दोलन सुरु भएको हो । मेयरलाई एर्दोगानका मूख्य प्रतिश्पर्धी मानिएको थियो ।
इमामोघ्लुले आफूविरुद्धको आरोपलाई राजनीतिक रूपमा प्रेरित रहेको बताएका छन् । तर एर्दोगानले भने मेयरको दावीलाई अस्वीकार गरेका छन्।
टर्की सरकारले प्रदर्शनहरू सुरु भएदेखि १ हजार १३३ जनालाई पक्राउ गरिएको बताएको छ ।
एर्दोगानले प्रदर्शनलाई अत्याचारी भन्दै विरोधी दलहरूलाई समाजमा रहेको शान्तिलाई भड्काउन खोजेको आरोप लगाएका छन ।
इमामोघ्लु जेलमा रहे पनि उनलाई सोमबार टर्कीको रिपब्लिकन पीपल्स पार्टी का तर्फबाट २०२८ को राष्ट्रपति चुनावका लागि उम्मेदवारको रूपमा अनुमोदन गरेको छ ।
अपराधिक संगठन स्थापना र व्यवस्थापन गरेको , घूस लिएको , जबर्जस्ती रकम संकलन गरेको , व्यक्तिगत डाटा अवैध रूपमा रेकर्ड गरेको र टेन्डरमा धाँधली गरेको आरोपमा मेयर इमामोघ्लुलाई पक्राउ गरिएको थियो।
संविधान संशोधन भएन भने एर्दोगान २०२८ मा पुनः चुनावमा उम्मेदवार बन्न पाउने छैनन ।