वार्ता जारी रहेकै बेला युक्रेनमाथि रुसको आक्रमण, बालबालिका समेत मारिए
प्रकाशित मिति : चैत्र १२, २०८१ मंगलबार

अमेरिकासँग शान्ति वार्ता भइरहेकै बेला रुसले युक्रेनमाथि आक्रमण गरेको छ । आक्रमणमा परेर बालबालिकासहित दर्जनौ घाइते भएका छन ।
रुस र अमेरिकाबीचमा साउदी अरबमा शान्ति वार्ता भइरहेका बेला युक्रेन बिरुद्ध रुसले हमला गरेको हो ।
रुसीको आक्रमणले पछिल्लो २४ घण्टामा कम्तीमा चार नागरिकलाई मारिएको र दर्जनौं घाइते भएको युक्रेनले बताएको छ ।
रुसी मिसाइल हवाई आक्रमणले युक्रेनको उत्तरपूर्वी शहर सुमीको घना जनसंख्या भएको आवासीय क्षेत्रमा ८८ जना घाइते बनाएको बनाएको छ । जसमा कम्तीमा १७ जना बच्चा पनि समावेश छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग लामो फोन कुराकानी पछि युक्रेनमा ऊर्जा लक्ष्यहरूको आक्रमण अस्थायी रूपमा रोक्न प्रस्ताव गरेका थिए ।
तर उनले नागरिक लक्षित आक्रमण जारी राखेका छन् । युक्रेनले पनि रूसमाथि प्रतिकार गरेको छ ।
साउदी अरबमा भएको वार्ता १२ घण्टा भन्दा बढी समय चलेको रुसी अधिकारीहरुले बताएका छन । वार्तामा अमेरिकाले युद्धविरामको प्रस्ताव गरेको थियो ।
रुसी प्रतिनिधिमण्डल अमेरिकी प्रस्तावको नजिक रहेर युद्धविरामको लागि छलफलमा जुटेको क्रेमलिनले बताएको छ । तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुस शान्ति वार्ता प्रति सकारात्मक नभएको आरोप लगाएका छन ।
रुसले शान्ति चाहेको हुने थियो भने वार्ता कै बिचमा आक्रमण हुने थिएन जेलन्स्कीले भनेका छन । अमेरिकी प्रतिनिधिमण्डले युक्रेनी नेताहरुसँग भेट गरेपछि रुससँगको पछिल्लो वार्तामा जुटेका हुन ।
रुसले वार्तामा ब्ल्याक सि इनिसियटिभ र यसको नवीकरणसँग सम्बन्धित सबै पक्षहरूमा पनि छलफल भएको बताएको छ । ब्ल्याक सि इनिसियटिभले युक्रेनी खाद्यान्नलाई ब्ल्याक सी को पानीमार्फत सुरक्षित निर्यात गर्न अनुमति दिएको थियो ।
रूस २०२३ मा उक्त सम्झौताबाट पछि हटेको थियो । रूसले आफ्नो खाद्य सामग्री निर्यात गर्न अवरोधहरूको सामना गर्नु परेको गुनासो गरिरहेको छ ।
अमेरिकाका विशेषदुत स्टीव विटकोफले ब्ल्याक सागर सी मा सम्भावित समुद्री युद्ध विरामको खोजी भइरहेको बताएका छन ।