अमेरिकासँगको वार्तापछि ‘ब्ल्याक सी’मा समुद्री युद्धविराम गर्न रुस र युक्रेन सहमत
प्रकाशित मिति : चैत्र १२, २०८१ मंगलबार

रूस र युक्रेनले ‘ब्ल्याक सी’ मा युद्धविराम गर्न सहमति जनाएका छन ।
अमेरिकासँग भएको छुट्टाछुट्टै सम्झौतामा रुस र युक्रेन समुद्री युद्धविराम गर्न तयार भएका हुन ।
साउदी अरबमा तीन दिन सम्म चलेको शान्ति वार्तापछि दुबै देशलाई युद्धविरामको लागि अमेरिकाले सहमत गराएको हो ।
अमेरिकाले सबै पक्षहरूले दिगो र स्थिर शान्ति तर्फको काम गर्न जारी राख्ने बताएको छ । उसले यो सम्झौताले महत्त्वपूर्ण व्यापार मार्गलाई पुनः खोल्ने अपेक्षा गरिएको बताएको छ ।
एक अर्काको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्नको लागि यसअघि गरेको सहमतिलाई पनि दुबै पक्षले पालना गर्ने अमेरिकाले बताएको छ ।
तर रूसले समुद्री युद्धविराम लागू हुनु भन्दा पहिले खाद्य र मल व्यापारसँग सम्बन्धित केहि प्रतिबन्धहरू हटाउनुपर्ने माग गरेको छ ।
अमेरिकी अधिकारीहरूले अलग अलग रूपमा रुस र युक्रेनका वार्ताकारसँग साउदी अरबको रियादमा भेट गरेका थिए । तर रूस र युक्रेनका प्रतिनिधिहरू भने अझैसम्म सिधै भेट भएका छैनन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ब्ल्याक सी मा हमलाहरू रोक्ने सम्झौतालाई सकारात्मक कदम भन्दै यसलाई सही बैठक, सही निर्णय र सही कदम भनेर टिप्पणी गरेका छन ।
अव कसैले पनि युक्रेनलाई दिगो शान्ति तर्फ नबढेको भनेर आरोप लगाउन नसक्ने जेलेन्स्कीले भनेका छन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौतामा अवरोध पुराएको आरोप जेलेन्स्कीमाथि यसअघि लगाएका थिए।
रुसले खाद्य र मल व्यापारसँग सम्बन्धित प्रतिबन्धहरू हटाएपछि मात्र ब्ल्याक सी युद्धविराम लागू हुने बताएको छ ।
अमेरिकी अधिकारीहरूले रूसलाई विश्व बजारमा कृषि र मल निर्यातका लागि पहुँच पुनः स्थापना गर्न सहयोग गर्ने बताएका छन्।