कोलम्बिया विश्वविद्यालयकी विद्यार्थी चंगलाई पक्राउ नगर्न ट्रम्प प्रशासनलाई संघीय न्यायाधीशको आदेश


प्रकाशित मिति : चैत्र १२, २०८१ मंगलबार

अमेरिकामा संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई २१ वर्षीया कोलम्बिया विश्वविद्यालयकी विद्यार्थी युनसेयो चंगलाई पक्राउ र डिपोर्ट गर्नका लागि रोक लगाएका छन ।

ट्रम्प प्रशासनले यसै महिना चंगलाई पक्राउ गर्न प्रयास गरेको थियो । ट्रम्प प्रशासनले चंगलाई पक्राउ गर्न गरेको प्रयासका बिरुद्ध उनका वकिलहरूले दायर गरेको मुद्दामा मंगलबार संघीय न्यायाधीशले पक्राउ गर्न र डिर्पोट गर्न गरेका प्रयासहरुलाई रोक्न आदेश दिएका हुन ।

न्यायाधीश नाओमी बुचवाल्डले म्यानहट्टन संघीय अदालतमा भएको सुनुवाइको क्रममा चंगले समुदायका लागि कुनै खतरा उत्पन्न नगराएको र विदेश नीति सम्बन्धी कुनै पनि जोखिम उत्पन्न नगराएको तथा कुनै आतंकवादी संगठनसँग पनि सम्पर्क नगरेकाले पक्राउ र डिर्पोट आवश्यक नरहेको बताइन ।

चंग अमेरिकी स्थायी वासिन्दा हुन्। उनी कोलम्बिया क्याम्पसमा भएका प्रदर्शनहरूमा पनि प्रमुख सहभागी नरहेको देखिन्छ ।

७ वर्षको उमेरमा दक्षिण कोरियाबाट अमेरिका आइकी हाई स्कूल भ्यालेडिक्टोरियन चंगलाई संघीय एजेण्टहरूले हिरासतमा लिएका भने छैनन् । उनका वकिलहरूले उनी रहेको स्थानबारे कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

चंगले मंगलबार साँझ न्यायाधीशको निर्णयको प्रति खुशी व्यक्त गरेकी छन । पछिल्ला केहि हप्ता लगातार चिन्तामा रहेपनि न्यायाधीशको आदेशले सन्तोष दिलाएको उनको प्रतिकृया छ ।

उनले कोलम्बिया विश्वविद्यालयका प्राध्यापकहरू, विद्यार्थीहरू र कर्मचारी सदस्यहरूले आफुलाई हरेक मोडमा शक्ति दिएका उल्लेख गरेकी छन ।

ट्रम्प प्रशासनले चंगलाई डिटेन र डिपोर्ट गर्नका लागि एक दुर्लभ कानूनी प्रावधान प्रयोग गरेको छ । चंगको उपस्थितिले अमेरिकी सरकारको विदेश नीतिको उद्देश्यलाई असर गरेको सरकारले दावी गरेको छ ।

न्यायाधीश बुचवाल्डले दिएको आदेशमा यदि सरकार चंगलाई अर्को प्रावधानको आधारमा पक्राउ गर्न खोज्छ भने, पहिले नै उचित जानकारी प्रदान गर्नुपर्नेछ भनिएको छ ।

विदेशमन्त्री मार्को रुबियोले महमूद खलीलको गिरफ्तारी पछि चंगको सन्र्दभमा पनि समान तर्क प्रस्तुत गरेका थिए । महमूद खलीललाई लुइसियानाको हिरासतमा राखिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com