अमेरिकामा आयात हुने कार र पार्ट्समाथि २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा


प्रकाशित मिति : चैत्र १३, २०८१ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी बजारमा आउने कार र कारका पार्ट्समाथि २५ प्रतिशतको नयाँ आयात कर लगाउने घोषणा गरेका छन् ।

ट्रम्पले घोषणा गरेको नयाँ आयात करले विश्वव्यापी व्यापार युद्धलाई अझै बढाउन सक्ने संभावना देखिएको छ ।

ट्रम्पले नयाँ आयात कर २ अप्रिलदेखि लागू हुने बताएका छन । सवारी साधन आयात गर्ने व्यवसायीहरूका लागि शुल्कहरू उक्त दिनदेखि लागु हुने बताइएको छ । पार्ट्समाथिको शुल्क भने मे महिनाबाट वा त्यसपछि लागू हुने अपेक्षा गरिएको छ ।

राष्ट्रपति ट्रम्पले आयात कर लगाउने कदमले कार उद्योगमा वृद्धि ल्याउने र यसले अमेरिकामा रोजगारी र लगानी बढाउने दावी गरेका छन ।

तर विश्लेषकहरूले यस कदमले अमेरिकामा महत्त्वपूर्ण कार उत्पादन अस्थायी रूपमा बन्द हुन सक्ने चेतावनी दिएका छन ।

आयात करले मूल्यवृद्धि गराउने र मित्र राष्ट्रहरूसँगको सम्बन्धमा तनाव आउन सक्ने उनीहरुले बताएका छन ।

अमेरिकाले गत वर्ष लगभग आठ मिलियन कार आयात गरेको थियो । जसले करिब २४० अर्ब डलरको व्यापारलाई प्रतिनिधित्व गरेको छ । यो कुल बिक्रीको आधा भाग पनि हो ।

अमेरिकामा कार निर्यात गर्ने प्रमुख देश मेक्सिको हो । दक्षिण कोरिया, जापान, क्यानडा र जर्मनीले पनि अमेरिकामा कार निर्यात गर्ने गरेका छन ।

ट्रम्पको यो नयाँ कदमले विश्वव्यापी कार व्यापार र आपूर्ति श्रृंखलामा ठूलो असर पुर्याउने खतरा उत्पन्न गरेको देखिएको छ ।

धेरै अमेरिकी कार कम्पनीहरूले मेक्सिको र क्यानडामा पनि आफना उत्पादन गरिरहेका छन । आयात करले उनीहरुलाई पनि प्रभावित बनाउने छ ।

ह्वाइट हाउसले यो आदेश तयार भएका कारहरूमा मात्र नभएको बताएको छ । अन्य देशहरूबाट अमेरिकी बजारमा पठाइने कार का पार्ट्समा पनि आयात कर लागू हुने बताइएको छ ।

ट्यारीफ भनेको आयातमा लागू गरिने कर हो । यसलाई सरकारद्वारा सङ्कलन गरिन्छ । त्यो कर आयात गर्ने कम्पनीले तिर्नुपर्छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com