अमेरिकी गोप्य सूचना ‘लीक’ प्रकरण : पत्रकार गोल्डबर्ग ट्रम्प बिरोधी रहेको ह्वाइट हाउसको आरोप


प्रकाशित मिति : चैत्र १३, २०८१ बुधबार

एटलांटिक म्यागजिनका पत्रकार जेफ्री गोल्डबर्गलाई ह्वाइट हाउसले बुधबार ट्रम्प विरोधी भएको आरोप लगाएको छ ।

प्रेस सचिव क्यारोलिन लेविटले गोल्डबर्गलाई घृणा फैलाउने समाचारको प्रचारक भएको आरोप लगाइन । उनले गोल्डबर्गमाथि ट्रम्प विरोधी धारणा बनाउन र गलत सन्देश प्रवाह गर्न उद्यत रहेको बताइन ।

राष्ट्रपति ट्रम्पले पनि एटलान्टिक म्यागेजिनलाई असफल म्यागेजिनको संज्ञा दिएका छन । अमेरिकाले यमनका हुथी विद्रोही बिरुद्ध आक्रमण गर्ने तयारी गरेको पूर्व सुचना ग्रुप च्याट मार्फत लीक भएपछि यो प्रकरण बाहिर आएको हो ।

गोल्डबर्गलाई अकस्मात उक्त ग्रुपमा जोडिएको थियो । गोल्डबर्गले झुटो दावी गरिरहेको भनेर आरोप लगाइए पछि उनले सबै सन्देश प्रकाशित गरेका थिए । अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सेयर गरेका सन्देशहरु पनि त्यहाँ समाबेस छन ।

गोप्य सूचनाहरु प्रकाशित भएपछि पनि ट्रम्प प्रशासनका अधिकारीहरूले आफुहरुले गलत नगरेको बताइरहेका छन । तर कतिपयले भने असावधानिवस यस्तो हुन गएको भन्दै स्वीकार गरेका छन ।

ती सन्देशहरूमा हमलापछि भएका क्षतिको मूल्याङ्कन, यमनमा सीआईए अपरेसन र हूथी विद्रोहीहरूमा प्रत्याशित इजरायली हमलाहरूका बारेमा पनि जानकारी दिइएको छ ।

रक्षा मन्त्री हेगसेथले आफनो बचाउ गर्दै ति युद्धका योजनाहरू नभएको दावी गरे । राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले यो घटनाको जिम्मेवारी लिएको ह्वाइट हाउसले बताएको छ ।

तर उनको पनि गलत नियत नभएको भन्दै बचाउ गरेको छ । ट्रम्पले आफ्ना रक्षा मन्त्री र सुरक्षा सल्लाहकारको समर्थन र बचाउन गरेका छन ।

हेगसेथ राम्रो काम गर्ने व्यक्ति भएको भन्दै ट्रम्पले उनी यस घटनासँग सम्वन्धित नरहेको बताएका छन ।

बीबीसीसँगको अन्तर्वार्तामा गोल्डबर्गले ट्रम्प प्रशासनले आफनो गल्ती सच्चाउनु भन्दा रिपोर्टरलाई दोष दिने प्रयास लागेको बताएका छन ।

सस्तो आरोप लगाएर र वास्तविकता स्वीकार नगरी हुदैन उनले भनेका छन । यसले ठूलो राष्ट्रिय सुरक्षा उल्लंघन गरेको उनको भनाई छ ।

डेमोक्र्याटहरूले रक्षा मन्त्री हेगसेथको राजीनामा मागेका छन् । अमेरिकी सैनिकहरूको जीवनलाई जोखिममा पार्न सक्ने गोप्य सूचना लीक गराएको भन्दै उनीहरुले रक्षामन्त्रीको राजिनामा माग गरेका हुन ।

यदि अमेरिका बिरोधीको हातमा यो सूचना पुगेको हुन्थ्यो भने अमेरिकी सेनाको ज्यान जोखिममा पर्ने निश्चित थियो उनीहरुले भनेका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com