बेलारुस हुँदै आउने आप्रवासीको आवेदनलाई पोल्याण्डले रोक्यो


प्रकाशित मिति : चैत्र १४, २०८१ बिहीबार

पोल्याण्डले बेलारुस हुँदै आउने आप्रवासीहरुले शरणका लागि दिने आवेदनलाई अस्वीकार गर्ने भएको छ ।

प्रधानमन्त्री डोनाल्ड टस्कले बेलारूससँगको सिमाना भएर आउने आप्रवासीहरूले शरणको लागि आवेदन दिन सक्ने अधिकारलाई अस्थायी रूपमा निलम्बन गरिएको बताएका छन ।

विवादास्पद बिललाई राष्ट्रपति आन्द्रेज दुदाले कानूनको रूपमा अनुमोदन गरेपछि पोल्याण्डले यो घोषणा गरेको हो ।

यो कानूनले पोल्याण्डका अधिकारीहरूलाई ६० दिनसम्मको अवधिका लागि यो अधिकार निलम्बन गर्न अनुमति प्रदान गर्नेछ ।

टस्कले सरकार यस कानूनलाई ढिलाइ नगरीू लागू गर्ने बताएका छन । राष्ट्रपति दुदाले यी परिवर्तनहरू देशको सिमानाको सुरक्षा सुदृढ गर्नका लागि आवश्यक रहेको बताएका छन ।

तर यो कानूनलाई मानवअधिकार समूहहरूले भने आलोचना गरेका छन् । उक्त समूहले यदि यो लागू भयो भने, युरोपियन युनियनले पोल्याण्डविरुद्ध कानूनी कदम चाल्नु पर्ने बताएका छन ।

यस समूहले गत महिना पोल्याण्डको संसदलाई उक्त बिल अस्वीकार गर्न आग्रह गरेको थियो ।

नाबालिगहरू, गर्भवती महिलाहरू, वृद्ध र अस्वस्थ व्यक्तिलाई फर्काउँदा गम्भीर हानीको जोखिम रहेको मानवअधिकारवादी समूहले बताएका हुन । टस्कले मानवअधिकार समूहहरूको आलोचनालाई भने बेवास्ता गरेका छन ।

सन् २०२१ देखि पोल्याण्ड, लिथुवानिया, लाटविया र फिनल्यान्डले बेलारूस र रुसबाट गैरकानूनी रूपमा आफ्नो देशमा प्रवेश गर्ने व्यक्तिहरूको ठूलो संख्या नियालि रहेका छन ।

पोल्याण्डका अधिकारीहरूले हजारौं सैनिक र सिमाना सुरक्षा अधिकारीहरूलाई बेलारूससँगको सिमानामा पठाएका छन् । १८६ किमि लामो सिमानामा ५.५ मिटर उचाईको इस्पातको बार लगाइएको छ ।

मानवअधिकार समूहहरूले सन् २०२१ देखि बेलारूस र पोल्याण्ड, लिथुवानिया र लाटवियाबीचको सिमानामा सयौं व्यक्तिहरूको मृत्यु भएको दावी गरेका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com