अमेरिकासँगको परम्परागत सम्बन्ध समाप्त भएको क्यानडाको घोषणा
प्रकाशित मिति : चैत्र १४, २०८१ बिहीबार

क्यानाडाले अमेरिकासँगको परम्परागत सम्बन्ध समाप्त भएको घोषणा गरेको छ ।
प्रधानमन्त्री मार्क कार्नीले अर्थतन्त्रको गहिरो एकीकरण , कडा सुरक्षा र सैनिक सहकार्यमा आधारित अमेरिकासँगको पुरानो सम्बन्ध अब समाप्त भएको घोषणा गरेका हुन ।
क्याबिनेट बैठकपछि ओटावामा पत्रकारहरूसँग कुरा गर्दै कार्नीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको करहरुको सामना गर्न क्यानाडाले आफ्नो अर्थतन्त्रलाई आधारभूत रूपमा पुनसंरचना गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
क्यानाडाले अमेरिकी सामानहरूमा अधिकतम प्रभाव पर्ने प्रतिशोधात्मक करहरु लगाएर जवाफ दिने प्रधानमन्त्रीले बताए । ट्रम्पले बुधबार आयातित गाडी र गाडीका पार्ट्समा २५ प्रतिशत कर लगाउने लगाउने र यो घोषणा स्थायी हुने घोषणा गरेका थिए ।
लिबरल पार्टीका नेता समेत रहेका प्रधानमन्त्री कार्नीले १९६५ मा हस्ताक्षर गरिएको क्यानाडा अमेरिका अटोमोटिभ प्रोडक्ट्स सम्झौता क्यानाडाका लागि सबैभन्दा महत्त्वपूर्ण सम्झौता भएको बताएका थिए । तर करहरु बढाइएपछि यो सम्झौता पनि समाप्त भएको उनको भनाई छ ।
क्यानाडाले अमेरिकी ट्यारिफहरूका बाबजुत अटो उद्योगलाई कायम राख्न सक्ने संभावना कति बलियो छ भनेर विभिन्न अध्ययनहरु पनि भइरहेका छन । यसमा सरकार र व्यवसायीले अर्थतन्त्रलाई पुनसंरचना गर्न सके भने त्यो संभावना रहने विश्लेषकहरुले बताएका छन ।
क्यानाडाले आगामी दिनमा अमेरिकासँग बलियो व्यापारीक सम्बन्ध राख्न सक्ने कि सक्दैन भन्ने कुरा अझै स्पष्ट नभएको प्रधानमन्त्री कार्नीले बताएका छन ।
अमेरिकाले पहिले नै क्यानाडाली सामानहरूमा २५ प्रतिशत कर आंशिक रूपमा लागू गरिसकेको छ । सबै एल्यूमिनियम र स्टील आयातमा २५ प्रतिशत कर पनि लगाएको छ ।
क्यानाडाले अहिलेसम्म ४२ बिलियन डलरका अमेरिकी सामानहरूमा आयात कर लगाएर जवाफ दिएको छ । नयाँ गाडीमा करहरु २ अप्रिलबाट लागू हुनेछ ।