भान्स र वाल्टजको भ्रमणलाई उत्तेजनापूर्ण भन्दै ग्रीनल्याण्डका प्रधानमन्त्रीको बिरोध
प्रकाशित मिति : चैत्र १४, २०८१ बिहीबार

ग्रीनल्याण्डका कार्यवाहक प्रधानमन्त्री मुते बी एगेडेले अमेरिकी उपराष्ट्रपति जे डी भान्सको भ्रमणलाई उत्तेजना र शक्ति प्रदर्शन भन्दै टिप्पणी गरेका छन ।
उनले ग्रीनल्याण्ड सरकारको तर्फबाट कुनै पनि निमन्त्रणा नदिइकन यो भ्रमण हुन लागेको भन्दै अन्तर्राष्ट्रिय समुदायले विरोध गर्न आव्हान गरेका छन ।
उनले ग्रीनल्याण्डका साधारण जनताले पनि भ्रमणका सदस्यहरुलाई स्वागत नगर्ने दावी गरेका छन ।
डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमसनले उपराष्ट्रपति भ्यान्सको उपस्थितिले भ्रमणको औपचारिकता बढाए तापनि यसले अमेरिकालाई उग्र देखाउने प्रयास गरेको बताएका छन ।
अमेरिकी सुरक्षा र सैन्य चासोका दृष्टिले पिटुफिक स्पेस बेसको भ्रमण ग्रीनल्याण्डमा अमेरिकाको चासोको प्रतिबिम्ब हो ।
यस स्थानले अमेरिकी मिसाइल रक्षा प्रणालीमा महत्वपूर्ण भूमिका खेल्दछ । रूसी आणविक मिसाइलहरूलाई अमेरिकी धरतीसम्म पुर्याउनको लागि ग्रीनल्याण्डको मार्ग प्रयोग हुन्छ ।
अमेरिकी उपराष्ट्रपति भ्यान्स र उनका पत्नी उषा सहितको अमेरिकी अधिकारीहरूको उच्चस्तरीय टोली शुक्रबार ग्रीनल्याण्डको एक दुर्गम सैनिक अड्डामा भ्रमणमा जाने तय भएको छ ।
ग्रीनल्याण्ड डेनमार्कको अर्ध स्वायत्त भूभाग हो । यस क्षेत्रको कम जनसंख्या र खनिजधनी भूभागले अमेरिकाको ध्यान आकर्षित गरेको छ ।
अमेरिकी टोलीमा उपराष्ट्रपति भ्यान्स र उनकी पत्नी उषा, सेक्रेटरी अफ एनर्जी क्रिस राइट, ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्टज र युटाहका रिपब्लिकन सिनेटर माइक ली समावेश छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई सुरक्षाका कारणले अमेरिकामा समाहित गर्न चाहेको टिप्पणी गरेका कारण यो भ्रमणको उद्देश्यमा शंका उत्पन्न भएको विश्लेषकहरुले बताएका छन ।