भूकम्पपछि म्यान्माको जुन्ताद्वारा अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल


प्रकाशित मिति : चैत्र १५, २०८१ शुक्रबार

म्यान्माको सत्तारूढ जुन्ताले शुक्रबार देशमा शक्तिशाली भूकम्प आएपछि अन्तर्राष्ट्रिय मानवीय सहायताका लागि दुर्लभ अनुरोध गरेको छ । साथै जुन्ताले छ वटा क्षेत्रमा आपत्काल घोषणा गरेको छ ।

एएफपी पत्रकारहरूले जुन्ता प्रमुख मिन आङ ह्लाइङलाई न्यापिडोको अस्पतालमा देखेका थिए । त्यहाँ ७.७ म्याग्निच्युडको भूकम्पपछि घाइतेहरूको उपचार गरिँदै थियो ।

“हामी अन्तर्राष्ट्रिय समुदायले सम्भव भएसम्म चाँडै मानवीय सहायता गर्नुपर्छ भन्ने चाहन्छौँ”, जुन्ता प्रवक्ता जा मिन टुनले अस्पतालमा भने ।

हताहतको सङ्ख्या अझै बाहिर आउन बाँकी छ तर सैन्य सरकारले सहयोगका लागि अपिल गरिरहेको छ । यस्तो सहयोगको याचना सैन्य सरकारले प्राकृतिक प्रकोपपछि विरलै गर्छ । यसले क्षतिको स्तर ठूलो हुनसक्ने सङ्केत गर्छ ।

जुन्ताले विज्ञप्तिमा सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्ये छ वटा : सागिङ, मन्दलाय, मगवे, उत्तरपूर्वी शान राज्य, न्यापिडो र बागोमा आपत्कालीन अवस्था लागू भएको जनाएको छ ।

मन्दलाय, न्यापिडो र सागिङका बिरामीहरूका लागि रक्तदान आवश्यक रहेको जा मिन टुनले बताए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com