हमास दोस्रो चरणको युद्धविरामका लागि तयार, अमेरिकी प्रतिक्रिया आउन बाँकी
प्रकाशित मिति : चैत्र १६, २०८१ शनिबार

हमासले गाजा पट्टीमा युद्धविराम पुनः सुरु गर्नका लागि सहमति जनाएको छ ।
हमासले मध्यस्थकर्ताहरूले प्रस्ताव गरेको योजनालाई समर्थन गरेको हो । प्रस्तावमा हमासले ५ जना इजरायली बन्धकलाई रिहा गरेमा ५० दिनको युद्धविराम हुने उल्लेख गरिएको छ।
गाजा बाहिर रहेका हमासका सबैभन्दा वरिष्ठ नेता खलील अल हय्यामले हमासले इजिप्ट र कतारका मध्यस्थकर्ताहरूले पठाएको सम्झौतामा सहमति जनाएको बताएका छन ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकासँगको पूर्ण समन्वयमा मध्यस्थकर्ताहरूसम्म युद्धविराम प्रस्ताव पेश गरेको बताएका छन ।
हमासले सहमति जनाएसँगै ५० दिन लामो युद्धविराम तत्काल सुरु हुनसक्ने इजरायलको संकेत रहेको छ । मुस्लिम समूदायले मनाउने चाड इद अल फित्र आइतबार देखि नै सुरु हुनेछ ।
यो बिचमा युद्धविरामको संभावना रहेको छ । हमासले सहमति जनाएको युद्धविरामको प्रस्तावमा अमेरिकाले भने प्रतिकृया अहिलेसम्म दिएको छैन ।
पछिल्ला दिनमा इजरायली सेनाले रफाहमा भूमिगत अपरेसन सुरू गरेको छ । गाजा पट्टीभरि हवाई हमलाहरू जारी राखेको छ ।
युद्धविरामको पहिलो चरणमा हमासले ३३ जना बन्धकलाई रिहा गरेको थियो । इरानको समर्थन प्राप्त हमास समूहले ५९ जना बन्धक अझै राखिरहेको विश्वास गरिएको छ ।
यद्यपि सबै बन्धक जीवित नरहेको हुनसक्ने अनुमान गरिएको छ । हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरेपछि युद्ध सुरु भएको हो ।
त्यसबेला १ हजार २०० व्यक्तिको मृत्यु भएको थियो । २५१ जनालाई बन्धक बनाएर हमास समूहले गाजा लगेको थियो ।
त्यसपछि सुरु भएको आक्रमणमा परेर अहिलेसम्म ५० हजार भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु गराएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।