अमेरिकासँग व्यापार युद्ध नगर्ने बेलायतको भनाई
प्रकाशित मिति : चैत्र १७, २०८१ आईतबार

अमेरिकाले बेलायतका बिरुद्ध कर लगाएमा बेलायतले प्रतिशोध कर लगाउने चेतावनी दिएको छ । तर अमेरिकासँग व्यापार युद्ध भने नगर्ने उसले प्रष्ट पारेको छ ।
बेलायती प्रधानमन्त्रीको कार्यालयले अमेरिकाले लगाएको करका बिरुद्ध प्रतिकृया दिन बेलायत नहिचकिचाउने बताएको हो ।
अमेरिकाले २ अप्रिलदेखि कार आयातमा २५ प्रतिशत कर र अन्य वस्तुहरूमा थप करको घोषणा गरेको छ । तर यो करका बारेमा अमेरिकाले भने बेलायतसँग वार्ता गरिरहेको बताएको छ ।
अन्य देशको तुलनामा अमेरिकासँग बेलायतको सम्बन्ध फरक खालको छ । बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले अमेरिकासँग सकेसम्म व्यापार युद्धमा नजाने बताइरहेका छन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरिएका करले अमेरिकी उत्पादकहरूलाई मद्दत गर्ने र रोजगारको सुरक्षा गर्ने दावी गरिरहेका छन ।
यद्यपि उपभोक्ताहरूको लागि मूल्यहरू बढ्न सक्ने विश्लेषकहरुले चेतावनी दिएका छन ।
अमेरिकामा सवारीवाहन आयात गर्ने व्यवसायहरूका लागि ३ अप्रिलबाट आयात कर लागू हुनेछ । कारका पार्ट्सहरुमा लाग्ने भनिएका करहरू मे वा त्यस पछि लागू हुने अमेरिकी अधिकारीहरुले बताएका छन ।
प्रधानमन्त्री कीर स्टार्मरले बेलायतले अमेरिकासँग व्यापार युद्ध नचाहेको बताउदै आएका छन । उनले सरकारले वार्ता मार्फत करहरुबाट बच्न प्रयास गर्ने उल्लेख गरे ।
अमेरिका र बेलायत आपसी व्यापार युद्धमा गए भने यसले आर्थिक वृद्धिमा अर्बौंको क्षति पुर्याउने अर्थ विश्लेषकहरुले बताएका छन ।
२५ प्रतिशत शुल्क बृद्धिले उद्योगमा विशाल वृद्धि ल्याउने र अमेरिकी रोजगार र लगानीमा वृद्धि गर्ने ट्रम्पले दावी गरेका छन ।
अमेरिकाले गत वर्ष लगभग ८ मिलियन कार आयात गरेको थियो । मेक्सिको अमेरिकामा कारको प्रमुख आपूर्तिकर्ता हो । त्यसपछि दक्षिण कोरिया, जापान, क्यानडा, र जर्मनीले अमेरिकामा कार निर्यात गर्दै आएका छन ।
बेलायतका कार निर्यातहरू वर्षमा लगभग ७.६ बिलियन पाउण्ड मूल्यका छन् । अमेरिकी बजार बेलायतका कारहरूको दोस्रो सबैभन्दा ठूलो बजार हो ।