दक्षिण कोरियाका विवादास्पद राष्ट्रपति योन संवैधानिक अदालतद्वारा पदमुक्त
प्रकाशित मिति : चैत्र २१, २०८१ बिहीबार

दक्षिण कोरियाको संवैधानिक अदालतले विवादास्पद राष्ट्रपति योन सुक योललाई पदमुक्त गरेको छ ।
उनले डिसेम्बर महिनामा सैन्य कानून घोषणा गरेपछि उत्पन्न भएको राजनीतिक अशान्ति र कानूनी विवादको अन्त्य अदालतले गरेको छ ।
अदालतको निर्णयले योनको राष्ट्रपति पदबाट औपचारिक बर्खास्तगीलाई पुष्टि गरेको छ ।
संसदले डिसेम्बरमा उनलाई महाभियोग लगाएको थियो । योन पुनः राष्ट्रपति पदमा फर्केमा सैन्य कानून लागू गर्ने प्रयास गर्न सक्ने भन्दै धेरै सांसदहरु डराएका थिए ।
योनलाई जनवरीमा विद्रोहको नेतृत्व गरेको आरोपमा गिरफ्तार गरिएको थियो । तर मार्चमा अदालतले उनको गिरफ्तारी आदेश खारेज गरेपछि उनी रिहा भए । तर उनीमाथिको आरोप भने कायम रहेको थियो ।
संविधानिक अदालतका आठजना न्यायधीशहरूले सर्वसम्मत रूपमा योन विरुद्धको महाभियोगको पक्षमा फैसला गरेका छन ।
महाभियोगपछि योनको पक्षमा र विपक्षमा प्रर्दशन भएका थिए । अदालतको निर्णय अघि राजधानी सियोलमा पुलिसले सुरक्षा बढाएको थियो । संभावित झडप रोक्नका लागि बार र चेकप्वाइन्ट स्थापना गरिएका थिए ।
दक्षिण कोरियाको राजनीतिक अशान्तिले प्रमुख विश्व अर्थतन्त्र र अमेरिकी सहयोगी राष्ट्रलाई नेतृत्वविहीन बनाएको छ।
दक्षिण कोरियाको कानूनी प्रणालीअनुसार योन पदमुक्त भएपछि नयाँ राष्ट्रपति चयन गर्नको लागि ६० दिन भित्र चुनाव गर्नुपर्छ ।
आगामी राष्ट्रपति बन्नका लागि विपक्षी नेता ली जे म्युङ्ग सम्भावित उम्मेदवार हुन । उनी पूर्व वकिल र सांसद पनि हुन् ।
२०२२ को राष्ट्रपति चुनावमा योनसँग सानो मतअन्तरले उनी पराजित भएका थिए ।