रहेनन् भारतीय अभिनेता मनोज कुमार


प्रकाशित मिति : चैत्र २२, २०८१ शुक्रबार

देशभक्तिपूर्ण विषयवस्तुमा आधारित हिन्दी भाषाका चलचित्रमा अभिनय गरेका भारतीय अभिनेता मनोज कुमारको ८७ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

‘भारत’ कुमारको नामले प्रसिद्ध अभिनेता मृत्युप्रति सामाजिक सञ्जालमा देश विदेशबाट श्रद्धाञ्जलि व्यक्त गरिएको छ । उनले हिन्दी सिनेमाका लागि अभिनेता, फिल्म निर्देशक, पटकथा तथा गीत लेखनका साथै सम्पादकका रूपमा योगदान दिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) का सदस्य समेत रहेका कुमारको मुटुसम्बन्धी समस्याका कारण मुम्बईमा निधन भएको थियो ।

भारतका प्रधानमन्त्री मोदीले कुमारलाई भारतीय सिनेमाको ‘प्रतीक’ को संज्ञा दिँदै भने, “उहाँको कामले राष्ट्रिय गौरवको भावनालाई प्रज्वलित गरेको छ र पुस्तौँ पुस्तालाई प्रेरणा दिइरहनेछ ।”

आफ्नो व्यवसायिक पेशामा कुमारको अभिनयको लागि भारतीयहरूले उनलाई उच्च आदर दिने गरेका छन् । उनलाई हिन्दी फिल्म निर्देशनमार्फत् एकता र राष्ट्रिय गौरवमा ध्यान केन्द्रित गर्ने सिने कलाकारका रूपमा चिनिन्थ्यो ।

हरिकृष्ण गोस्वामीको रूपमा जन्मिएका उनले बलिउड परम्परामा आफ्नो नाम मनोज कुमार राखेका थिए । उनले सिनेमाको लागि भारतको सर्वोच्च सम्मान दादासाहेब फाल्के पुरस्कारसहित धेरै राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेका थिए ।

कुमारले सन् १९५० को दशकको अन्त्यतिर भारतीय सिनेमामा डेब्यु गरेका थिए । उनले ‘उपकार’ (१९६७), ‘पूरब और पछिम’ (१९७०) र ‘क्रान्ति’ (१९८१) लगायत देशभक्तिपूर्ण विषयवस्तुका थुप्रै चलचित्रमा अभिनय गरेका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com