‘व्यवसाय सुरु गर्ने नेपाली व्यवसायीलाई ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सले सहयोग गर्छ’
प्रकाशित मिति : चैत्र २२, २०८१ शुक्रबार

प्रदीप श्रेष्ठ न्युयोर्कमा बसोबास गर्ने नेपाली समुदायका व्यवसायीहरूको अनुभव र आवश्यकतालाई समेटेर ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सको स्थापना गर्ने संस्थापक हुन् । उनले नेपालमा करिब २० वर्ष विभिन्न व्यवसायमा संलग्न भएर अनुभव बटुलेका थिए । साथै सन् २०१३ देखि न्युयोर्कमा व्यवसाय सञ्चालन गर्दै आएका छन्। नेपालमा रहँदा नेपाल निर्यात परिषद् र विभिन्न चेम्बर अफ कमर्समा आबद्ध भई व्यवसाय प्रवर्द्धनमा नेटवर्किङको महत्त्व बुझेका उनले न्युयोर्कमा नेपाली व्यवसायीहरूका लागि संगठित प्रयासको आवश्यकता महसुस गरे। सूचना अभाव र भाषागत समस्याले यहाँका पहिलो पुस्ताका नेपाली व्यवसायीहरूलाई चुनौती थपिएको देखेपछि साथीहरूसँगको सल्लाहमा तदर्थ समिति गठन गरी सन् २०२४ को अप्रिल १३ मा यो संस्था औपचारिक रूपमा स्थापित भएको हो। प्रस्तुत छ, चेम्बरको स्थापना, उद्देश्य, सहयोगका क्षेत्रहरू र भावी योजनाबारे उनैसँग खसोखासका दीपक परियारले गरेको कुराकानी ।
न्युयोर्क चेम्बर अफ कमर्सको स्थापना कहिले भयो र यसको उद्देश्य के हो?
म सन् २०१३ को अक्टोबरदेखि न्युयोर्कमा व्यवसाय सञ्चालन गर्दै आएको छु। त्यसअघि नेपालमा लगभग २० वर्षसम्म विभिन्न व्यवसायमा संलग्न थिएँ। नेपालमा रहँदा मैले नेपाल निर्यात परिषद्को कार्यसमितिमा रहेर काम गर्ने अवसर पाएको थिएँ र विभिन्न चेम्बर अफ कमर्ससँग आबद्ध थिएँ। त्यहीँबाट मैले व्यवसाय प्रवर्द्धनका लागि नेटवर्किङको महत्त्व महसुस गरेको थिएँ। न्युयोर्कमा आएपछि यहाँ नेपाली भाषी दिदीबहिनी र दाजुभाइहरूले विभिन्न व्यवसाय सञ्चालन गरिरहेको पाएँ। हामीमध्ये अधिकांश व्यवसाय सञ्चालन गर्ने नेपालीहरू पहिलो पुस्ताका छौं। हामीले नेपालमा सिकेका कुरालाई आधार बनाएर र यहाँ केही नयाँ कुरा सिकेर व्यवसाय अघि बढाइरहेका छौं। तर, व्यवसाय सञ्चालनमा सूचनाको अभाव र भाषागत समस्याले धेरै चुनौतीहरू देखिएपछि साथीहरूसँग सल्लाह गरेर हामी नेपाली व्यवसायीहरू संगठित हुनुपर्छ भन्ने निष्कर्षमा पुग्यौं। साथीहरूको सुझावअनुसार तदर्थ समिति गठन गरी संस्थाको विधान तयार गरेर दर्ता प्रक्रिया पूरा गर्यौं। अन्ततः सन् २०२४ को अप्रिल १३ मा आधिकारिक कार्यसमिति घोषणा गरेर न्युयोर्क चेम्बर अफ कमर्सको स्थापना गरेका हौं।
नेपाली व्यवसायहरूबीच यो संस्थाको आवश्यकता किन र केका लागि पर्यो?
मैले पहिले नै उल्लेख गरिसकेको छु कि हरेक व्यवसाय फस्टाउनका लागि प्रवर्द्धन आवश्यक हुन्छ। फरक–फरक प्रकृतिका व्यवसायहरूले आ–आफ्नै व्यावसायिक अनुभव बोकेका हुन्छन्, जुन एकअर्काको व्यवसायका लागि सहयोगी र प्रवर्द्धनमा सहायक बन्न सक्छ। यसका साथै, व्यावसायिक सूचना र राज्यबाट उपलब्ध सेवा–सुविधाहरू व्यवसायीहरूसम्म पुर्याउन सिटी र व्यवसायीहरूबीच सहजकर्ताको भूमिका खेल्न सकियोस् भन्ने उद्देश्यले हामीले यो संस्थाको आवश्यकता देख्यौं। व्यवसाय सञ्चालनका लागि आवश्यक विभिन्न स्रोतहरू खोज्न सहज होस् र नेपाली व्यवसायीहरूको हितमा काम गर्न सकियोस् भनेर चेम्बरको स्थापना गरेका हौं।
चेम्बर अफ कमर्सले नेपाली व्यवसायीहरूलाई कुन–कुन कुरामा सहयोग गर्छ र उनीहरूले कसरी लाभ लिन सक्छन्?
चेम्बर स्थापनाको मुख्य उद्देश्य नेटवर्किङ नै हो। हामी व्यवसायीहरूलाई ग्राहक, लगानीकर्ता र साझेदारहरूसँग जोड्ने लक्ष्य लिएर अघि बढेका छौं। व्यावसायिक सहयोगका लागि वित्त, मार्केटिङ र कानुनी जानकारीसम्बन्धी वर्कशपहरू आयोजना गर्ने गरेका छौं। हाम्रा सदस्यहरूलाई ऋण र अनुदानका लागि लगानीकर्तासँग जोड्ने प्रयास पनि गरेका छौं। नेपाली व्यवसायहरूको हितमा सिटीसँग सहकार्य गरेर उपलब्ध सेवा–सुविधाहरू हाम्रा सदस्यहरू र समुदायका साथीहरूसम्म पुर्याउने उद्देश्य राखेका छौं। साथै, आपसी सहकार्य र सामूहिक लगानीको वातावरण तयार गर्न पनि लागिरहेका छौं। नयाँ व्यवसायीहरूलाई सल्लाह र सुझाव प्रदान गरेर उनीहरूलाई सहयोग गर्ने काम पनि गरिरहेका छौं।
न्युयोर्कमा धेरै नेपालीहरूले रेस्टुरेन्ट, नेल, उबर र लिफ्ट, मोबाइल पसल, रियल स्टेट, मर्गेज अफिस र इन्स्योरेन्स जस्ता व्यवसायहरूमा उत्साहजनक रूपमा सुरु गरिरहेका छन्। तपाईंको यो संस्थाले ती व्यवसायहरूलाई कसरी सहयोग गरिरहेको छ? के–के सहयोग गर्ने योजनाहरू छन्?
न्युयोर्कमा नेपालीहरूले सञ्चालन गरेका यी व्यवसायहरूलाई हाम्रो चेम्बरले विभिन्न तरिकाले सहयोग गरिरहेको छ। हामी व्यवसायीहरूलाई ग्राहक, लगानीकर्ता र मेन्टरहरूसँग जोड्छौं। कर, लाइसेन्सिङ र मार्केटिङसम्बन्धी वर्कशपहरू आयोजना गर्छौं। ऋण, अनुदान र एसबीए कार्यक्रमहरूबारे जानकारी प्रदान गर्छौं। नयाँ व्यवसायीहरूलाई अनुभवी उद्यमीहरूसँग जोड्ने प्रयास गर्छौं। साथै, नेपाली व्यवसायहरूको हितमा नीति निर्माणमा आवाज उठाउने काम पनि गर्छौं। भविष्यमा यस्ता सहयोगलाई अझ प्रभावकारी बनाउन थप योजनाहरू बनाउँदै छौं।
भर्खरै व्यवसाय सुरु गर्न सोचिरहेका नेपाली व्यवसायीहरूले के–के कुरा अपडेट गर्नुपर्छ र यहाँको प्रणालीबारे कुन–कुन कुरा जान्न आवश्यक छ?
न्युयोर्कमा व्यवसाय सुरु गर्न चाहने नेपाली उद्यमीहरूले केही महत्त्वपूर्ण कुराहरू जान्न र अपडेट गर्न आवश्यक छ। पहिलो, आफ्नो व्यवसायलाई न्यूयोर्क राज्यमा दर्ता गर्नुपर्छ। दोस्रो, ईआईन (आईआरएसबाट) नम्बर लिनुपर्छ र आवश्यक परमिटहरू प्राप्त गर्नुपर्छ। सामान बेच्ने हो भने बिक्री कर प्रमाणपत्र लिनुपर्छ। कम्पनीको बैंक खाता खोल्नुपर्छ र बिक्री करका लागि आय–व्ययको ट्र्याक राख्नुपर्छ। अनुपालनका लागि एकाउन्टेन्टसँग सल्लाह लिनु उपयुक्त हुन्छ। हाम्रो चेम्बरले आयोजना गर्ने नेटवर्किङ, सल्लाह र प्रशिक्षण कार्यक्रमहरूमा सहभागी हुन म सबैलाई अनुरोध गर्छु। साथै लोन, अनुदान र सामुदायिक ऋणहरूबारे अपडेट रहनुपर्छ। मार्केटिङका लागि गुगल लिस्टिङ र सोशल मिडिया प्रयोग गर्नुपर्छ। श्रम कानुन पालना गर्नुपर्छ र कर्मचारी राख्ने हो भने कर्मचारी क्षतिपूर्ति बीमा लिनुपर्छ।
नेपाली व्यवसायहरूमा भाषाको समस्या देखिन्छ। अन्य देशका व्यवसायीहरूले आफ्नै भाषामा सफ्टवेयरहरू बनाएको देखिन्छ। के नेपाली व्यवसायीहरूबीच वा यो संस्थाले आफ्नो भाषामा सफ्टवेयर बनाउने कुनै योजना बनाइरहेको छ?
हामी भर्खरै स्थापना भएको संस्था भएकाले अहिले न्युयोर्क राज्यअन्तर्गतका विभिन्न निकायहरूसँग सहकार्य गर्दै स्रोतहरू जुटाउने काममा छौं। संस्थाको सदस्य विस्तारसँगै हामीले हाम्रा सदस्यहरूको आवश्यकता हेरेर अघि बढ्ने योजना बनाएका छौं। हाललाई नेपाली भाषामा सफ्टवेयर बनाउने कुनै ठोस योजना नभए पनि भविष्यमा यो सम्भावनाबारे छलफल गर्न सकिन्छ। हाम्रो प्राथमिकता अहिले आधारभूत सहयोग र नेटवर्किङमा केन्द्रित छ।
अमेरिकी व्यवसायहरूसँगको सहकार्य र संवाद यो संस्थाले गरिरहेको हामीले देखिरहेका छौं। के अब नेपाल र अमेरिकाबीच नेपाली उत्पादनको बजार व्यवस्थापनका लागि कुनै योजना वा सहकार्य सुरु भएको छ?
अबको केही दिनमा हामीले नेपाली नयाँ वर्ष २०८२ को शुभकामना कार्यक्रम र चेम्बरको पहिलो वार्षिक कार्यक्रम आयोजना गर्दैछौं। यो अवसरमा नेपालमा उत्पादित निर्यातजन्य वस्तुहरूको प्रवर्द्धन गर्ने उद्देश्यले हामीले नेपाल अमेरिका चेम्बर अफ कमर्ससँग मिलेर बी टु बी मिटिङको तयारी गरेका थियौं। तर, समय अभावका कारण यो अहिले सम्भव भएन। अब छिट्टै कार्यसमिति बैठक बसेर यसबारे निर्णय गर्नेछौं। हाम्रो लक्ष्य नेपाल र अमेरिकाबीच व्यापारिक सम्बन्ध बलियो बनाउनु हो।
विदेशमा बस्ने नेपालीहरूले रेमिट्यान्समार्फत नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याइरहेका छन्। त्यसैगरी, अमेरिकामा रहेका नेपालीहरूले नेपालको अर्थतन्त्रमा कसरी सहयोग पुर्याउन सक्छन्?
अमेरिकामा रहेका नेपाली व्यवसायीहरूले नेपालको अर्थतन्त्रमा सहयोग गर्न सक्ने धेरै तरिका छन्। उनीहरूले नेपालमा उत्पादित सामानहरू अमेरिकामा आयात गरेर नेपालमा डलर पठाउन सक्छन्। त्यस्तै, यहाँ रहेका नेपाली पर्यटन व्यवसायीहरूले नेपालको पर्यटन प्रवर्द्धन गरेर पर्यटन व्यवसायमार्फत पनि नेपालको अर्थतन्त्रमा योगदान दिन सक्छन्। यी प्रयासहरूले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
चेम्बर अफ कमर्सले अहिलेसम्म कस्ता–कस्ता कार्यक्रमहरू ल्याएको छ, आगामी योजनाहरू के–के छन्, र नेपाली व्यवसायहरूको हकहित र संरक्षणका लागि कस्ता–कस्ता कार्यक्रमहरू अगाडि सारेको छ?
हामी नयाँ संस्था भएकाले स्रोतहरू जुटाउन समय लाग्यो। न्युयोर्क मेयर अफिसअन्तर्गतको स्मल विजनेश सर्भिससँगको सहकार्य हाम्रो मुख्य उपलब्धि बनेको छ। हामीले हाम्रा समुदायका व्यवसायीहरूलाई कस्ता कार्यक्रमहरू फलदायी हुन्छन् भनेर सर्वेक्षण गरिरहेका छौं। विगत एक वर्षमा हामीले ३–४ वटा कार्यक्रम मात्र गर्न सक्यौं। हाम्रा कर्पोरेट सदस्य संस्थाहरूबाट व्यावसायिक कर्जा र व्यवसाय प्रवर्द्धनका सहयोगी कार्यक्रमहरू खोज्ने योजनामा छौं। नेपाली व्यवसायहरूको हकहित र संरक्षणका लागि नीति निर्माणमा आवाज उठाउने र स्रोतहरू जुटाउने काममा हामी केन्द्रित छौं।
गत एक वर्षमा नेपाली चेम्बर अफ कमर्सले के–के ठूला उपलब्धिहरू हासिल गरेको छ?
हामी जो अहिले व्यवसाय सञ्चालन गरिरहेका छौं, सबै पहिलो पुस्ताका नेपाली अमेरिकी हौं। हामीबीच नेटवर्किङको अवधारणा पूर्ण रूपमा स्थापित भइसकेको छैन। धेरै व्यवसायीहरू अझै पनि “चेम्बरको सदस्य बनेर मैले के पाउँछु?” भन्ने सोचमा छन्। अहिले हामीले संस्थालाई संस्थागत रूपमा स्थापित गरेर सदस्यता अभियानमा ध्यान दिइरहेका छौं। अर्को वर्षबाट केही ठोस उपलब्धिहरू हासिल गर्ने लक्ष्य लिएका छौं।
नेपाली व्यवसायीहरूको हितका लागि चेम्बरले हालसम्म गरेका महत्त्वपूर्ण कामहरू के–के हुन्?
हामी अहिले पनि स्थापनाको प्रारम्भिक चरणमा छौं। यहाँ रहेका ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्स र क्विन्स चेम्बर अफ कमर्ससँग आबद्ध भएका छौं। न्यूयोर्क सिटी मेयर अफिस, यहाँका एसेम्ब्ली मेम्बर र सिटी काउन्सिल मेम्बरहरूसँग निरन्तर सम्पर्कमा छौं। अहिलेसम्मको अवस्थामा हामी उनीहरू सबैको नजरमा नेपाली व्यवसायीहरूको संस्थागत प्रतिनिधिको रूपमा स्थापित भएका छौं।
चेम्बर अफ कमर्सले नेपाली व्यवसायहरूको वृद्धिका लागि अमेरिकी संस्थाहरूसँगको सहकार्य कसरी अगाडि बढाउने योजना बनाइरहेको छ?
ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सले अमेरिकी संस्थाहरूसँग सहकार्य गरेर नेपाली व्यवसायहरूलाई सहयोग गर्न विभिन्न कदमहरू चालिरहेको छ। यसअन्तर्गत साझेदारीका लागि अमेरिकी चेम्बर, व्यापार संघ र अल्पसंख्यक व्यवसाय सञ्जालहरूसँग काम गरिरहेको छ। नेटवर्किङ आयोजनाको रूपमा संयुक्त सम्मेलन, व्यापार मेला र व्यवसाय मिलान कार्यक्रमहरूको आयोजना गरिरहेको छ। कोष पहुँचका लागि सदस्यहरूलाई एसबीए ऋण, अनुदान र लगानीकर्ता कार्यक्रमहरूसँग जोड्ने प्रयास गरिरहेको छ।
पक्षधरताको क्षेत्रमा अमेरिकी व्यापार संघहरूसँग मिलेर आप्रवासी–मैत्री नीतिहरूको वकालत गरिरहेको छ। व्यापार प्रवर्द्धनका लागि अमेरिकी बजारमा नेपाली उत्पादनहरू जस्तै हस्तशिल्प, चिया, वस्त्र आदिको बिक्री बढाउन ई–कमर्स र रिटेल सम्पर्क विस्तार गरिरहेको छ। साथै, प्रशिक्षणका लागि अनुपालन, डिजिटल मार्केटिङ र व्यवसाय विस्तारसम्बन्धी कार्यशालाहरू आयोजना गरि यी सबै प्रयासहरूको मुख्य लक्ष्य अमेरिकामा नेपाली व्यवसायहरूको वृद्धि गर्नु र नेपाल–अमेरिकाबीचको आर्थिक सम्बन्धलाई बलियो बनाउनु हो।
अन्तमा, अमेरिकामा बसेर व्यवसाय सञ्चालन गरिरहनुभएका व्यवसायी साथीहरूलाई म चेम्बर अफ कमर्ससँग आबद्ध हुन अनुरोध गर्छु। “चेम्बरको सदस्य बनेर के पाउँछु?” भन्ने सोच राख्नुभन्दा “मैले यहाँबाट के लिन सक्छु?” भन्ने उद्देश्य लिएर सदस्यता लिइदिनुहुन पनि अनुरोध गर्छु।