इरानसँग प्रत्यक्ष वार्ता गर्ने अमेरिकाको चाहना, इरानले किन गर्दैछ बारम्बार अस्वीकार ?
प्रकाशित मिति : चैत्र २२, २०८१ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता गर्न चाहेको बताएका छन । उनले आणविक सम्झौताबारे इरानसँग प्रत्यक्ष वार्ता चाहेको बताएका हुन ।
इरानले आणविक हतियार विकास गरे बम हान्ने धम्की दिएका ट्रम्पले इरानी नेताहरूलाई दुई महिनाको समयसीमा दिएका थिए ।
अमेरिकासहितका पश्चिमी देशहरूले लामो समयदेखि इरानलाई आणविक हतियारको खोजी गरेको आरोप लगाउदै आएका छन ।
इरानले पश्चिमी देशले लगाउदै आएको आरोपलाई भने अस्वीकार गर्दै आएको छ । प्रत्यक्ष वार्ता गर्नु राम्रो हुन्छ ट्रम्पले राष्ट्रपतीय विमान एयर फोर्स वानमा पत्रकारहरूसँग कुराकानी गर्दै भनेका हुन ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले गत हप्ता अमेरिकाले ‘इरानप्रति दृष्टिकोणमा परिवर्तन नल्याउँदासम्म अमेरिकासँग प्रत्यक्ष वार्ता नहुने बताएका थिए ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा बाराक ओबामा सरकारले सन् २०१५ मा गरेको आणविक सम्झौता रद्द गरेका थिए । उनले त्यपछि इरानमाथि कठोर प्रतिबन्ध लगाएका थिए ।
इरान र विश्व शक्तिहरूबीच सम्पन्न भएको सो सम्झौताले इरानलाई प्रतिबन्धहरूबाट राहत दिने बदलामा आफ्नो आणविक महत्त्वाकांक्षालाई सीमित गर्न बाध्य पारेको थियो ।
गत महिना ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई आणविक वार्ताको आह्वान गरेका थिए ।
इरानले अस्वीकार गरेमा सम्भावित सैन्य कारबाहीको चेतावनी सहितको पत्र उनले लेखेको बताएका थिए ।
इजरायलले इरानका दुई सहयोगी हमास र लेबनानको हिजबुल्लाहलाई ध्वस्त पारेपछि ट्रम्प इरानमाथि हावी हुन थालेको देखिएको छ ।