दक्षिणी गाजामा १५ जना उद्धारकर्मी मारिनुमा गल्ती भएको इजरायलद्वारा स्वीकार
प्रकाशित मिति : चैत्र २३, २०८१ शनिबार

दक्षिण गाजा क्षेत्रमा १५ जना उद्धारकर्मीहरुको हत्यामा आफनो गल्ती भएको इजरायलले स्वीकार गरेको छ । मार्च महिनामा गाजा क्षेत्रमा १५ जना उद्धारकर्मीहरुको मृत्यु भएको थियो । यो मृत्युमा आफनो आंशिक रुपमा गल्ती भएको इजरायलले स्वीकार गरेको हो ।
राष्ट्रसंघले उद्धारकर्मी र एम्बुलेंस चालकको रूपमा पहिचान गरेका ती १५ जनाको हत्यापछि इजरायली सेना द्वारा जारी गरिएका विवरणहरू असत्य भएका बताएको थियो । इजरायलले भने घटनाको छानविन भइरहेको बताएको थियो ।
सैन्य अधिकारीले मार्च २३ को विहान गाजा शहरको राफा नजिकै एक रिजर्भ इन्फेन्ट्री ब्रिगेडले छानबिन गर्दै गरेको बेला उनीहरूले दुई जना हमास सुरक्षा कर्मीहरूलाई मारेको र एक जनालाई पक्राउ गरेको बताएका थिए ।
इजरायली सैनिकहरूले स्वचालित निगरानीबाट एम्बुलेंस र फायर ट्रक उनीहरूको नजिक आइपुगेका थाहा पाएका थिए । इजरायली सैनिकहरूले थप हमासका कार्यकर्ता प्रतिकारका लागि आएको ठानेर उनीहरु विरुद्ध गोली चलाएको बताएका छन ।
यसअघि इजरायली सेनाले ति गाडीहरु हेडलाइट्स र आपतकालीन बत्तिहरू नवाली आएका कारण यो घटना भएको बताउदै आएको थियो ।
तर प्राप्त गरिएको भिडियोले एम्बुलेंस र फायर ट्रकहरू स्पष्ट रूपमा आपतकालीन बत्तिहरू वालेर आइरहेको बेला इजरायली सैनिकहरूले गोली प्रहार गरेको देखाएको छ ।
सैन्य अधिकारीले मारिएका १५ जनामध्ये कम्तिमा ६ जना हमासका कार्यकर्ता रहेको बताएको छन । तर ति अधिकारीले हमासको कार्यकर्ता रहेको प्रमाण भने दिन सकिरहेका छैनन ।
रेडक्रस, र संयुक्त राष्ट्र संघले सबै मारिएका व्यक्तिहरू उद्धाकर्मीहरु रहेको बताएका थिए ।
उनीहरुले उद्धारकर्मीमाथि आक्रमण गर्नु गलत भएका बताइरहेका थिए । सुरुका दिनमा इजरायलले ति दावीलाई खारेज गर्दै आएको थियो ।