अमेरिकी नागरिकलाई किन पठायो रुसले मनोरोग अस्पतालमा ?
प्रकाशित मिति : चैत्र २४, २०८१ आईतबार

रुसमा पक्राउ परेका अमेरिकी नागरिकलाई मनोरोग अस्पतालमा उपचार थालिएको छ ।
रुसको हिरासतमा रहेका ति अमेरिकी नागरिकलाई उपचारको लागि अस्पताल लैजानु परेको हो । उनलाइ यसै महिना मुद्दा चलाउने तयारी गरिएको थियो ।
अमेरिकी ति नागरिकलाई जबर्जस्ती मनोरोग अस्पतालमा पठाइएको रूसी समाचार संस्था तासले जनाएको छ ।
अमेरिकी नागरिक ४६ वर्षीय जोसेफ टेटरलाई सन् २०२४ को अगष्टमा मस्कोमा पक्राउ गरिएको थियो ।
उनीविरूद्ध होटलका कर्मचारीलाई दुव्र्यवहार गरी एक जना प्रहरी अधिकारीमाथि पनि आक्रमण प्रयास गरेको आरोप लगाइएको छ ।
आरोप प्रमाणित भएमा उनलाई पाँच वर्षसम्मको जेल सजाय हुनसक्छ ।
मार्च १५ मा मस्कोको एलेक्सेयेभा मनोरोग अस्पतालका चिकित्सकहरूको कमिसनले टेटरले ‘तनाव, आवेग एवं भ्रमपूर्ण विचार र मनोवृत्ति’ देखाएको ठहर गरेको थियो ।
अदालतले टेटरलाई अस्पताल भर्ना गर्ने निर्णय कहिले जारी ग¥यो भन्ने कुरा तत्काल स्पष्ट हुन सकेको छैन ।
तर टेटरलाई मस्कोको सर्बस्की सेन्टरमा मानसिक जाँचका लागि पठाइएको थियो ।
यो फोरेन्सिक मनोरोग केन्द्र र अस्पताल सोभियत युगमा मनोवैज्ञानिक रोगहरूको झूटो निदानको साथ राजनीतिक असन्तुष्टी जारी गर्न लागि चिनिएको थियो ।
टेटरको मुद्दा आगामी अप्रिल १४ देखि मस्कोको अदालतमा सुरु हुँदैछ ।
रुसले हालैका वर्षहरूमा जासुसी, रुसी सेनाको आलोचना गर्नेदेखि लिएर सानातिना चोरी र पारिवारिक विवादमा थुप्रै अमेरिकी नागरिकलाई पक्राउ गरेको छ ।