वरिष्ठ पत्रकार रिसाल रहेनन्


प्रकाशित मिति : चैत्र २४, २०८१ आईतबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । उहाँको ९७ वर्षको उमेरमा आइतबार बेलुका निधन भएको हो ।

मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहनुभएका वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँका भाइ पुरु रिसालले जानकारी दिनुभयो ।

उहाँको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । वरिष्ठ पत्रकार रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गर्नुभएको थियो ।

वरिष्ठ पत्रकार रिसालले मानवअधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ ।

उहाँले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला सञ्चालन गर्नुभएको थियो ।

वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बन्नुभएको थियो ।

वरिष्ठ पत्रकार रिसालले राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित वरिष्ठ पत्रकार रिसालले राससमा काम गर्नुअघि तथ्याङ्क विभागमा रहेर काम गर्नुभएको थियो ।

रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन् । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com