सुप्रिम सहकारी प्रकरण : रास्वपा सभापति लामिछाने कारागार चलान
प्रकाशित मिति : चैत्र २५, २०८१ सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारागार चलान गरिएको छ ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई सोमबार जिल्ला कारागार भैरहवा चलान गरिएको हो । उहाँलाई भैरहवा कारागारमा रहेका ४ वटा ब्लक मध्ये ४ नम्बर ब्लकमा राखिएको छ ।
उक्त ब्लकमा १० जना कैदीबन्दी राख्न सकिने क्षमता भएपनि लामिछानेलाई एक्लै राखिएको कारागारका प्रशासक सुरेश भण्डारीले जानकारी दिनुभयो ।
लामिछानेले कुनै माग नगरेको भएपनि स्वविवेकले ब्लक नम्बर ४ मा राखिएको भण्डारीले बताउनु भयो । शुक्रबार काठमाण्डौमा रहेको आफनै निवासबाट लामिछानेलाई प्रहरीले पक्राउ गरेर शनिबार बिहान रुपन्देहीको भैरहवा ल्याएको थियो ।
शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले लामिछानेलाई सोमबार मात्रै जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको थियो । जिल्ला अदालतबाट थुनुवा पुर्जी लिएर लामिछानेलाई कारागार चलान गरिएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतको १ करोड धरौटीमा छाड्ने आदेश उल्टाउदै उच्च अदालत तुल्सीपुर बुटवल इजलासले पुर्पक्षका लागि थुना मै राखेर लामिछानेमाथि अनुसन्धान अघि बढाउन आदेश दिएपछि लामिछाने पक्राउ पर्नुभएको हो ।