अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ४ वर्षयताकै न्यूनतम स्तरमा
प्रकाशित मिति : चैत्र २५, २०८१ सोमबार

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चार वर्षयताकै न्यूनतम स्तरमा झरेको छ। ‘ब्रेन्ट क्रूड’ को मूल्य सोमबार न्यूनतम बिन्दुमा पुगेको हो, जुन सन् २०२१ को अप्रिलपछि सबैभन्दा कम हो। हाल ब्रेन्ट क्रूडको मूल्यमा ३.२% को गिरावट आएको छ र यो ६३.४९ डलर प्रति बैरलमा झरेको छ।
यसैगरी, वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) इन्डेक्स, जसले मिक्स क्रूड आयलको मूल्य मापन गर्छ । समाचार एजेन्सी रोयटर्सका अनुसार डब्ल्यूटीआईमा ३.५८% को गिरावट देखिएको छ।
गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशविरुद्ध रेसिप्रोकल ट्यारिफ घोषणा गरेपछि तेलको मूल्यमा थप दबाब परेको छ। त्यसयता ब्रेन्टमा १०.९% र डब्ल्यूटीआईमा १०.६% को गिरावट आएको छ। बजार विश्लेषकहरूले यो अवस्था अझै केही समय रहन सक्ने अनुमान गरेका छन्।