ट्रम्पको व्यापक कर योजनाले विश्व वित्तीय बजारमा हलचल, नीति नरम पार्ने छैन संकेत
प्रकाशित मिति : चैत्र २५, २०८१ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक कर योजनाले विश्व वित्तीय बजारमा ठूलो असर पारेको छ। सोमबार अमेरिकी स्टकहरू थप अस्थिरताको लागि तयार भए । ट्रम्पले विदेशी सरकारहरूलाई आफूले ‘औषधि’ भनेर नामकरण गरेको कर हटाउन ‘धेरै पैसा’ तिर्नुपर्ने चेतावनी दिएका छन्।
एसियाली बजार डुबेका छन्, युरोपेली शेयरहरू १६ महिनाको न्यूनतम स्तरमा पुगेका छन् । तेलको मूल्यमा समेत ठूलो गिरावट आएको छ। लगानीकर्ताहरूले ट्रम्पको कर नीतिले उच्च मूल्य, कम माग र विश्वव्यापी मन्दी निम्त्याउने डर व्यक्त गरेका छन्। गोल्डम्यान स्याक्सले आगामी १२ महिनामा अमेरिकामा मन्दीको सम्भावना ४५ प्रतिशत पुगेको जनाएको छ भने जेपी मोर्गनले अर्थतन्त्र ० दशमलव ३ प्रतिशत संकुचन हुने अनुमान गरेको छ।
ट्रम्पको कदमविरुद्ध युरोपेली संघका मन्त्रीहरू सोमबार संयुक्त मोर्चा बनाउने प्रयासमा बैठक गर्दैछन् । उता, चीनले प्रतिशोधी कर लगाएको छ । चीनले ट्रम्पको व्यवहारलाई ‘आर्थिक धम्की’ रुपमा उल्लेख गरेको छ । ताइवानमा शेयरहरू १० प्रतिशतले झरेका छन् भने हङकङ र मेनल्याण्ड चाइनामा पनि ठूलो गिरावट देखिएको छ।
‘मानिसहरू डराउँछन् कि सबैभन्दा खराब अझै आउन बाँकी छ’, डकोटा वेल्थ म्यानेजमेन्टका रोबर्ट पावलिकले भने।
ट्रम्पले भने आफ्नो नीति नरम पार्ने संकेत गरेका छैनन्। ‘कहिलेकाहीँ ठीक गर्न औषधि लिनुपर्छ’, उनले भने।
वाल स्ट्रीटका नेताहरूले यो करले ‘आर्थिक आणविक जाडो’ निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।