ट्रम्पद्वारा ९० दिनका लागि भन्सार शुल्क स्थगित, चीनमाथि भने १२५ प्रतिशत कर घोषणा


प्रकाशित मिति : चैत्र २७, २०८१ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक घोषणा गर्दै आगामी ९० दिनका लागि अधिकांश देशहरूसँगको पारस्परिक भन्सार शुल्क स्थगित गर्ने निर्णय गरेका छन्।

यो नीतिले विश्व बजारमा अस्थिरता ल्याएको र वैश्विक व्यापारलाई खल्बल्याउने खतरा उत्पन्न गरेको भन्दै उनले यो कदम चालेका हुन्। यद्यपि, उनले यो स्थगनमा चीनलाई समावेश नगरेको बताएका छन्। बेइजिङले नयाँ प्रतिशोधको घोषणा गरेपछि ट्रम्पले चिनियाँ निर्यातमा भन्सार शुल्क १२५ प्रतिशतसम्म बढाउने निर्णय गरेका छन्।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लिभिटले भन्सार शुल्कको स्तरलाई विश्वव्यापी रूपमा १० प्रतिशतमा झारिने बताइन्, जुन धेरै देशका लागि ठूलो राहत हो। यो घोषणासँगै ह्वाइट हाउसले यो कदम पूर्वनियोजित रणनीतिको हिस्सा भएको दाबी गरेको छ।

यो निर्णय अमेरिकी बन्ड बिक्री र विश्व बजारमा ठूलो नोक्सानीको बीचमा आएको हो। अर्थशास्त्रीहरूले अमेरिका स्वनिर्मित मन्दीतिर धकेलिन सक्ने चेतावनी दिएका थिए। तर, यो नीति उल्टिएसँगै एस एण्ड पी ५०० सूचकांक केही मिनेटमै ७ प्रतिशतभन्दा माथि उक्लिएको छ।

यसअघि ट्रम्पले अमेरिकाका सबै व्यापारिक साझेदारमाथि नयाँ शुल्क लगाएका थिए भने चिनियाँ सामानमा आयात कर १०४ प्रतिशत पुर्‍याएका थिए। जवाफमा, बेइजिङले अमेरिकी आयातमा ८४ प्रतिशतसम्म शुल्क बढाएको छ, जुन बुधबार दिउँसो १२:०१ बजे लागू भएको छ।

यसैबीच, युरोपेली संघले पनि अमेरिकाविरुद्ध प्रतिशुल्क लगाउने निर्णय गरेको छ, जुन अर्को मंगलबारदेखि कार्यान्वयनमा आउनेछ। मकैदेखि प्लेट ग्लाससम्मका अमेरिकी सामानमा २५ प्रतिशत शुल्क लाग्नेछ। युरोपेली संघले अमेरिकाले निष्पक्ष सम्झौता मानेमा यो शुल्क हटाउन सकिने बताएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com