अमेरिकी सेयर बजारमा २००८ यताकै सबैभन्दा ठूलो एकदिने ऐतिहासिक उछाल
प्रकाशित मिति : चैत्र २७, २०८१ बुधबार

अमेरिकाले उच्च शुल्क स्थगित गर्ने निर्णय गरेपछि सेयर बजारमा ऐतिहासिक उछाल आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अधिकांश देशहरूसँगको व्यापारमा लगाइएको उच्च आयात शुल्क स्थगित गरी यसको सट्टा १० प्रतिशत आयात कर लागू गर्ने घोषणा गरेपछि अमेरिकी सेयर बजारमा तीव्र वृद्धि भएको छ ।
ह्वाइट हाउसले वार्ता गर्न सहमत भएका व्यापार साझेदारहरूका लागि उच्च शुल्क स्थगित गरिने बताएको छ ।
तर ट्रम्पले चीनबाट आयात हुने सामानमा लगाइएको कर तुरुन्तै लागू हुने गरी कम्तीमा १२५ प्रतिशत सम्म बढाउने चेतावनी दिएका छन् ।
यस घोषणापछि एस एण्ड पी ५०० सूचकांक ९.५ प्रतिशतले उछालिएको छ ।
यो सन २००८ यताकै सबैभन्दा ठूलो एकदिने उछाल हो । यो वृद्धि केही दिनयताको बजारमा देखिएको ठूलो गिरावटपछि आएको हो ।
नयाँ शुल्क लागू भएको २४ घण्टाभित्रै ट्रम्पले पछिल्लो निर्णय लिएका हुन् । ती शुल्कहरूले भियतनामजस्ता प्रमुख व्यापार साझेदारहरूलाई असर गरेका थिए ।
भियतनामका सामानहरूमा ४६ प्रतिशत सम्मको नयाँ शुल्क लागु गरिएको थियो ।
गत साता ट्रम्पले घोषणा गरेका शुल्कहरू वॉल स्ट्रिटको अपेक्षाभन्दा धेरै उच्च र विस्तारित रहेका थिए । विश्लेषकहरूले अमेरिकी र विश्व अर्थतन्त्रमा मन्दीको खतरा बढेको चेतावनी दिएका थिए ।
क्यापिटल इकोनमिक्सका प्रमुख उत्तर अमेरिकी अर्थशास्त्री पॉल एशवर्थले राष्ट्रपति ट्रम्पले स्टक बजारको गिरावटलाई केही समयसम्म झेले पछि झुक्न बाध्य भएको बताएका छन ।
उनले ट्रम्प गत वर्षको चुनावी अभियानमा प्रस्तुत गरेको १० प्रतिशत सार्वभौमिक शुल्कको योजनामा फर्किने सम्भावना व्यक्त गरेका छन । तर चीनसँगको सम्झौतामा भने समय लाग्न सक्ने उनले चेतावनी पनि दिए ।
दुबै पक्ष झुक्न सक्ने अबस्था तत्काल नदेखिएकाले अमेरिका र चीनबीचको व्यापार युद्ध भने केहि समय लम्विन सक्ने आँकलन गरिएको छ ।