अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा जोखिममा परेकै होत ?
प्रकाशित मिति : चैत्र २७, २०८१ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सयौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा खारेज गरेको छ । अमेरिका भरिका विश्वविद्यालय क्याम्पसहरूबाट कुनै पूर्वसूचना वा अपीलको अधिकार बिना नै पक्राउ गरिएको अधिकारवादी समुहहरुले बताएका छन ।
केही विद्यार्थीहरूलाई सामान्य पोशाकमा आएका अधिकारीहरूले घरनजिकै पक्राउ गरिरहेको देखिने भिडियोहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन् । जसले अन्तर्राष्ट्रिय विद्यार्थी समुदायमा ठूलो डर र त्रास फैलाएको छ ।
इन्साइड हाइयर इडीको अध्ययनले ८० भन्दा बढी विश्वविद्यालयहरुमा विद्यार्थीको भिसा खारेज भएको देखिएको छ । अमेरिका भरिका ठूला वा साना विश्वविद्यालयहरु यसमा परेका छन । टेक्सास , फ्लोरिडा , कोलोराडो , हावर्ड , कोलम्बिया , क्यालिफोर्निया लगाएतका मुख्य विश्वविद्यालयका विद्यार्थीहरु निशानामा परेका छन ।
अमेरिकी विदेश मन्त्री मार्को रुबियोले गत महिना कम्तीमा ३०० भिसाहरू खारेज गरिएको बताएका थिए ।
अमेरिकाको राष्ट्रिय हित विपरीतका गतिविधिमा संलग्नहरू लक्षित गरि यो अभियान सञ्चालन गरिएको विदेशमन्त्री ले दावी गरेका छन । धेरैजसो प्रभावित विद्यार्थीहरूले प्यालेस्टाइनको समर्थनका गतिविधिमा भाग लिएको पाइएको उनले बताएका छन ।
अमेरिकामा रहेका विद्यार्थीहरूलाई पनि बोल्न पाउने अधिकार छ । तर उनीहरू अस्थायी भिसा होल्डर भएका कारण उनीहरूको कानुनी हैसियत जोखिममा पर्ने संभावना सधै रहने गर्दछ ।
अमेरिकन सिभिल लिबर्टिज युनियनले कुनै पनि राष्ट्रपतिलाई विचारधाराका आधारमा असहमत व्यक्तिहरूलाई देशनिकाला गर्न अनुमति दिनु हुँदैन भनेर विरोध गरेको छ ।
पक्राउ परेका विद्यार्थीहरूलाई आईसका अधिकारीहरूले डिटेन्सन सेन्टरहरूमा राखेर निर्वासन प्रक्रिया अघि बढाएका छन् । कोलम्बिया विश्वविद्यालयले हालै स्नातक गरेका अमेरिकी बासिन्दा महमूद खलीललाई विश्वविद्यालयकै घरबाट मार्चमा पक्राउ गरिएको थियो।
टफ्टस विश्वविद्यालयमा पढ्ने टर्कीका विद्यार्थी रमेसा ओजटुर्कको पक्राउको भिडियो सार्वजनिक भएको थियो । कयौं विद्यार्थीहरूले आफ्नो भिसा खारेजी तथा पक्राउको विरोधमा अमेरिकी सरकारविरुद्ध मुद्दा दायर गरेका छन् ।
उनीहरूले बिना कारण वा चेतावनी पक्राउ गरी बन्दी बनाइएको आरोप लगाएका हुन । उनीहरुले आफनो नागरिक अधिकारको उल्लंघन भएको बताएका छन ।
राष्ट्रपति ट्रम्पको प्रशासनले १९५२ को कानुन प्रयोग गर्दै अमेरिकाको परराष्ट्र नीति प्रतिकूल असर पर्ने विदेशी नागरिकहरूलाई निष्कासन गर्न थालेको छ ।
तर विद्यार्थी र शैक्षिक संस्थाहरूले यसलाई राजनीतिक विचार स्वतन्त्रतामाथिको हमला भन्दै विरोध गरिरहेका छन ।
अहिले १.१ मिलियन अन्तर्राष्ट्रिय विद्यार्थीहरू अमेरिकामा अध्ययन गरिरहेका छन् । ट्रम्प प्रशासनको पछिल्लो नीतिका कारण उनीहरूको कानुनी हैसियत अन्योलमा परेको छ ।