आजीवन कारावासको सजाय पाएका ३ अमेरिकीलाई डीआर कंगोले फिर्ता पठायो


प्रकाशित मिति : चैत्र २८, २०८१ बिहीबार

डेमोक्रेटिक रिपब्लिक अफ कंगोले तीन जना अमेरिकी नागरिकलाई फिर्ता पठाएको छ । तीनै जनालाई कंगोको सैनिक अदालतले पहिला मृत्युदण्ड सुनाएको थियो ।

पछि उनीहरुको सजायलाई आजीवन कारावासमा परिणत गरिएपछि बाँकी सजाय भुक्तान गर्नका लागि ती अमेरिकी नागरिकलाई कंगो सरकारले अमेरिकामै पठाएको हो ।

उनीहरुमाथि प्रजातान्त्रिक गणतन्त्र कंगोमा भएको असफल कु को प्रयासमा दोषी ठहर गरिएको थियो । अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता टैमी ब्रुसले ती तीनै जना अमेरिकी हिरासतमा रहेको पुष्टि गरेकी छन ।

तीन जना अमेरिकी नागरिकहरु मार्सेल मालांगा मालु, टायलर थमसन र झाल्मन पोलुन बेन्जामिनलाई मंगलबार डीआरकंगोबाट अमेरिका पठाइएको कंगो राष्ट्रपतिको प्रवक्ता टीना सलामाले जानकारी दिइन् ।

उनीहरूलाई किङ्गशासास्थित एनजिली अन्तर्राष्ट्रिय विमानस्थलबाट कानुनी प्रक्रिया पु्रा गरेर अमेरिका पठाइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । गत सेप्टेम्बरमा सैनिक अदालतले उनीहरूसहित ३७ जनालाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

मुख्य योजनाकार कंगो मूलका अमेरिकी नागरिक क्रिस्टियन मालांगा भने हमलाका क्रममा मारिएका थिए । उनका छोरा मार्सेल मालांगा मालु अमेरिका पठाइएका तीन जना मध्येका एक हुन् ।

अमेरिका र डीआर कंगोबीच खानी क्षेत्रमा साझेदारीबारे छलफल भइरहेको बेला अमेरिकी नागरिकलाई अमेरिका नै पठाइएको हो ।

डीआर कंगोमा विश्वकै सबैभन्दा ठूलो खनिज स्रोतहरू कोल्टान र कोबाल्ट पाइन्छ । ती खनिज इलेक्ट्रोनिक उपकरण र विद्युतीय गाडीका ब्याट्री निर्माणका लागि प्रयोग हुन्छन् ।

अहिले ती खनिजहरु प्रायः चिनियाँ कम्पनीहरूले उत्खनन गरिरहेका छन्। कानुनी विज्ञहरूले अमेरिका पुगेर ती दोषीहरूलाई सजाय माफ वा छोट्याउने सम्भावना कम रहेको बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com