ट्रम्प प्रशासनद्वारा ६ हजार भन्दा बढी आप्रवासीहरुको सोसल सेक्युरिटी नम्बर रद्द
प्रकाशित मिति : चैत्र २९, २०८१ शुक्रबार

अमेरिकामा ट्रम्प प्रशासनले ६ हजार भन्दा बढी आप्रवासीहरुको सामाजिक सुरक्षा नम्बर (सोसल सेक्युरिटी नम्बर) रद्द गरेको छ ।
रद्द गरिएका आप्रवासीलाई देश छोड्न दबाब दिइएको छ । सामाजिक सुरक्षा नम्बर रद्द गरिएका जीवित आप्रवासीहरुलाई ट्रम्प प्रशासनले मृतक सूचीमा सूचीकृत गरेको छ ।
ट्रम्प प्रशासनले ६ हजार भन्दा बढी जीवित आप्रवासीहरूलाई “मृत” वर्गीकृत गर्दै उनीहरूको सामाजिक सुरक्षा नम्बर रद्द गरेको बताएको हो ।
उनीहरूलाई स्वेच्छाले अमेरिका छोड्न बाध्य पार्ने रणनीति अन्तर्गत यो निर्णय गरिएको अधिकारीहरुले बताएका छन ।
बैंक वा अन्य सेवा लिनका लागि सामाजिक सुरक्षा नम्बर आवश्यक पर्ने आप्रवासीहरु पछिल्लो कदमले प्रभावित हुने देखिएको छ ।
पूर्व राष्ट्रपति जो बाइडेनद्वारा सुरु गरिएका अस्थायी आप्रवासन कार्यक्रमहरू मार्फत अमेरिका प्रवेश गरेका व्यक्तिहरूमाथि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कडाइ गर्ने योजनाको यो एउटा हिस्सा हो ।
स्रोतहरूका अनुसार यी आप्रवासीहरूको नाम र वैध रूपमा प्राप्त गरिएको सामाजिक सुरक्षा नम्बरहरूलाई सरकारले मृतकहरूलाई ट्र्याक गर्न प्रयोग गर्ने डेटाबेसमा सारिदिएको छ ।
सामाजिक सुरक्षा नम्बर खोसिँदा आप्रवासीहरु धेरै आर्थिक सेवाबाट बञ्चित हुनेछन । यसले उनीहरूलाई अमेरिका छोड्न बाध्य बनाउने छ ।
६ हजार भन्दा बढी आप्रवासीहरू कसरी चयन गरिए भन्ने कुरा अझै स्पष्ट छैन ।
तर ट्रम्प प्रशासनले बाइडेन कालमा सुरु गरिएको सीबीपी वन एप प्रयोग गरी अमेरिका प्रवेश गरेका ९ लाखभन्दा बढी आप्रवासीहरूलाई लक्षित गर्दै आएको छ ।
यसै साता गृह सुरक्षा विभाग ले सीबीपी वन एप प्रयोग गरेर आएका आप्रवासीहरूको अस्थायी कानुनी हैसियत खारेज गरेको थियो ।
ती आप्रवासीहरूलाई बाइडेन कालमा राष्ट्रपतिको विशेष अनुमति अन्तर्गत दुई वर्षका लागि अमेरिका बस्ने र काम गर्ने अनुमति दिइएको थियो ।
तर अब ट्रम्प प्रशासनले उनीहरूलाई “स्वेच्छाले देश छोड्न” भनेको छ ।