अमेरिकी शिक्षा मन्त्रालयले सार्वजनिक विद्यालयको बजेट रोक्दै
प्रकाशित मिति : चैत्र २९, २०८१ शुक्रबार

अमेरिकी शिक्षा मन्त्रालयले मेन राज्यका सार्वजनिक विद्यालयहरूको सबै संघीय बजेट रोक्ने प्रक्रिया अघि बढाउने घोषणा गरेको छ ।
ति राज्यले राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्रान्सजेन्डर खेलाडीहरूलाई रोक लगाउने कार्यकारी आदेशको अवहेलना गरेको आरोप लगाइएको छ ।
छात्रा टोलीहरूमा ट्रान्सजेन्डर खेलाडीहरूलाई सहभागी हुन रोक लगाउने कार्यकारी आदेशमा यसअघि ट्रम्पले हस्ताक्षर गरेका थिए ।
शिक्षा मन्त्रालयले न्याय मन्त्रालयसँग मेनविरुद्ध “कारवाही प्रक्रिया” अघि बढाउन आग्रह पनि गरेको छ ।
ट्रम्प प्रशासनले फेब्रुअरीदेखि नै राज्यका डेमोक्र्याटिक गभर्नर जेनेट मिल्ससँग ट्रान्सजेन्डर खेलाडीको मुद्दालाई लिएर विवाद चर्काउँदै आएको छ ।
पछिल्लो महिनाको छोटो अनुसन्धानपछि शिक्षा मन्त्रालयले मेन राज्यको शिक्षातन्त्रले टाइटल ९ उल्लंघन गरिरहेको घोषणा गरेको थियो । यस कानुनले यौन पहिचानका आधारमा गरिने भेदभावलाई रोक्छ ।
गभर्नर मिल्सले राज्यको मानवअधिकार ऐन लिंग पहिचान, धर्म, जाति, र अन्य आधारमा गरिने भेदभावलाई गैरकानुनी हुने भएकाले कार्यकारी आदेशलाई मान्न नसकिने बताए ।
उनले कार्यकारी आदेशमार्फत होइन संसदबाट यो प्रावधानको प्रबन्ध गरिए मात्रै लागू गर्न सकिने बताएका छन । उनले ट्रान्सजेन्डर खेलाडीहरूको सहभागिताबारे आफ्नो व्यक्तिगत धारणा भने सार्वजनिकरूपमा प्रकट गरेकी छैनन् । यद्यपि यो विषय बहसको लागि लायक रहेको भने बताएकी छन्।
शिक्षा मन्त्रालयले “मेनलाई टाइटल ९ अनुसारको पालना गर्न पटक–पटक अवसर दिएको तर राज्यका नेताहरूले विद्यार्थीहरूको सुरक्षाभन्दा उग्र विचारधारालाई प्राथमिकता दिएको बताएको छ ।
मेन प्रिन्सिपल्स एसोसिएसनका अनुसार राज्यभर रहेका १५१ वटा सार्वजनिक तथा निजी उच्च विद्यालयहरूमध्ये हाल दुई जना ट्रान्सजेन्डरहरू छात्रा टोलीमा खेलिरहेका छन्।
ट्रम्प प्रशासनले फेब्रुअरीदेखि राज्यको शिक्षालयमाथि विभिन्न अनुसन्धान थाल्दै आएको छ ।
अघिल्लो हप्ता कृषि मन्त्रालयले स्कूल खानपान कार्यक्रम अन्तर्गतको बजेट रोकिदिएको थियो । यो रोकका विरुद्ध राज्यले मुद्दा हालेको थियो ।