अमेरिकाले भन्यो : ईरानसँगको आणविक वार्ता ‘रचनात्मक र उत्साहपूर्ण ‘
प्रकाशित मिति : चैत्र ३०, २०८१ शनिबार

अमेरिका र ईरानबीचको अर्को चरणको वार्ता अर्को साता हुने भएको छ । ओमानमा पहिलो चरणको वार्ता सकारात्मक भएको भन्दै अर्को चरणको वार्ताको लागि अर्को साता उपपुक्त हुने निष्र्कषमा दुबै देश सहमत भएका हुन ।
ईरान र अमेरिकाबीच तेहरानको आणविक कार्यक्रमबारे ओमानमा भएको पहिलो चरणको वार्ता शनिबार सम्पन्न भएको हो । सन् २०१८ यता दुई देशबीचको यो सबैभन्दा उच्चस्तरीय बैठक हो ।
दुवै पक्षले वार्तालाई रचनात्मक भनेका छन । उनीहरुले अर्को चरणको वार्ता अर्को साता हुने पुष्टि गरेका छन् । अमेरिकाले प्रत्यक्ष संवादलाई सम्भावित सम्झौताका लागि महत्त्वपूर्ण भनेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा ईरानसँगको ऐतिहासिक आणविक सम्झौताबाट अमेरिकालाई फिर्ता ल्याएका थिए ।
ओमानको राजधानी मस्कटमा दुई घण्टा ३० मिनेट चलेको पहिलो बैठक छोटो भएपनि सम्मानजनक र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताइएको छ ।
ईरानी विदेशमन्त्री अब्बास अराक्चीका अनुसार, बैठक सकारात्मक रह्यो र कुनै अपमानजनक भाषा प्रयोग गरिएको थिएन ।
उनले ईरानी टेलिभिजनमा पहिलो बैठकको रूपमा रचनात्मक रह्यो। वातावरण निकै शान्त र आदरपूर्ण थियो भनेका छन ।
बैठकमा दुबै पक्ष फरक कोठामा बसेर ओमानका विदेशमन्त्री बदर बिन हमाद अल बुसैदी मार्फत सन्देश आदानप्रदान गरेका थिए ।
यद्यपि अमेरिकी प्रतिनिधि स्टिभ विटकोफ र अराक्ची केहीबेर सँगै बसेर कुरा गरेका थिए ।
ह्वाइट हाउसले बैठकलाई सकारात्मक र रचनात्मक भनेको छ । विटकोफले संवाद र कूटनीति मार्फत समस्या समाधान गर्ने आदेश पाएको जानकारी दिएका छन् ।
ट्रम्पले गत महिना संयुक्त अरब इमिरेट्समार्फत ईरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनेईलाई पत्र पठाएका थिए । जसमा ईरानले आणविक हतियार नबनाओस् भन्ने चाहना व्यक्त गरिएको थियो ।
ईरान भने आणविक कार्यक्रम केही सीमित गर्न तयार देखिएको छ । ओमानले वार्ताको मुख्य उद्देश्य क्षेत्रीय तनाव घटाउने र बन्दी आदानप्रदान गर्ने हो भनेको छ ।
वार्ताको खबर ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहूसँग ह्वाइट हाउसमा भेटपछि सार्वजनिक गरेका थिए । नेतन्याहूले भने ईरानसँग कुनै पनि हालतमा आणविक हतियार हुन दिनु हुँदैन भनेका छन ।
सन् २०१५ को सम्झौता अनुसार ईरानले १५ वर्षसम्म ३.६७ प्रतिशत सम्म मात्र युरेनियम प्रशोधन गर्ने सहमति गरेको थियो ।
तर ट्रम्पले सम्झौता तोडेसँगै ईरानले ६० प्रतिशत सम्म प्रशोधन गरिसकेको छ । जुन ९० प्रतिशत मा पुर्याइएमा हतियार बनाउने स्तरमा पुग्न सक्छ ।