पेनसिल्भेनियाका गभर्नर शापिरोको सरकारी निवासमा आगजनीको प्रयास, एकजना पक्राउ
प्रकाशित मिति : चैत्र ३१, २०८१ आईतबार

अमेरिकाको पेनसिल्भेनियाका गभर्नर जोश शापिरोको सरकारी निवासमा आगजनीको प्रयास भएको छ । सो घटनामा सम्लग्न भएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ । हत्या प्रयास र आतंकवादको आरोपमा ती व्यक्तिलाई पक्राउ गरिएको हो ।
पेनसिल्भेनियाको गभर्नर जोश शापिरोको सरकारी निवासमा भएको आगजनीको प्रयासपछि ३८ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको हो । अधिकारीहरूले उक्त आक्रमणलाई हत्या प्रयास, आतंकवाद र आगजनीको प्रयास अन्तर्गत अनुसन्धान गरिरहेका बताएका छन्।
पक्राउ पर्ने व्यक्ति कोडी बाल्मर हुन् । उनलाई ह्यारिसबर्ग क्षेत्रमा एक होममेड विस्फोटक उपकरणसहित पक्राउ गरिएको हो । उनीमाथि हत्या प्रयास, आतंकवादी कार्य, र आगजनी प्रयासको आरोप लागेको छ ।
गभर्नर शापिरोले आइतबार पत्रकार सम्मेलनमा बताएअनुसार, रातको मध्यतिर उनले आपतकालीन निकायले ढोका ढकढकाइरहेको आवाज सुने र उठे । त्यसबेला आगो घरको एक भागमा फैलिइसकेको थियो ।
भविष्यमा राष्ट्रपतिको उम्मेदवारका रूपमा समेत चर्चामा डेमोक्र्याट नेता शापिरो आफ्नी श्रीमती लोरी र चार सन्तान—सोफिया, जोनाह, म्याक्स र रूबेनसँग सुरक्षितरूपमा घरबाट बाहिर निस्कन सफल भए ।
तर, राजधानी ह्यारिसबर्गस्थित गभर्नर निवासको एक भागमा भने ठूलो क्षति भएको छ । आक्रमण घटना हुनुभन्दा केही घण्टा अघि शापिरो परिवारले यहूदी चाड पासओभर को पहिलो रात घरमै मनाइरहेका थिए ।
राज्य प्रहरीका डेपुटी कमिश्नर जर्ज बिभेन्सले बाल्मर गभर्नर निवासको वरिपरिको पर्खाल नाघेर घरभित्र प्रवेश गर्न सफल भएका बताए । आगो कसरी लगाइयो भन्नेबारेमा भनेअनुसन्धान जारी रहेको उनले भनेका छन ।
ह्यारिसबर्ग फायर विभागले आगो निभाउने काम गरिरहँदा प्रहरीले शापिरो र उनको परिवारको उद्धारमा ध्यान केन्द्रित गरेको थियो । अधिकारिहरूले घटनापछि दोषीको पहिचानमा सहयोग गर्ने जानकारी दिने व्यक्तिलाई १० हजार डलर पुरस्कारको घोषणा गरेका थिए ।
जोश शापिरो सन् २०२३ देखि पेनसिल्भेनियाका गभर्नरका रूपमा कार्यरत छन् । यसअघि उनी राज्यका अटर्नी जनरल थिए।
शापिरोको नाम सन् २०२४ को राष्ट्रपतीय चुनावका क्रममा पूर्व उपराष्ट्रपति कमला ह्यारिसको सम्भावित उपराष्ट्रपति उम्मेदवारको रूपमा पनि उठेको थियो । यद्यपि ह्यारिसले भने पूर्व मिनेसोटा गभर्नर टिम वाल्जलाई रोजेकी थिइन् ।
ह्यारिसबर्गस्थित गभर्नर निवास सन् १९६८ मा जर्जियन शैलीमा निर्माण गरिएको भवन हो । यो भवनमा अहिलेसम्म आठ जना गभर्नरहरू बसिसकेका छन्।