राष्ट्रपति ट्रम्पको हत्या गर्ने योजना बनाएको आरोपमा १७ वर्षीय किशोर पक्राउ
प्रकाशित मिति : चैत्र ३१, २०८१ आईतबार

अमेरिकाको विस्कन्सिनमा एकजना १७ वर्षीय किशोर आफ्नी आमा र सौतेनी बुवाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
अमेरिकी संघीय अधिकारीहरूका अनुसार उक्त हत्या राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने र अमेरिकी सरकार उल्ट्याउने योजना अन्तर्गत गरिएको थियो ।
निकीता कसाप नामका ती किशोरले आफैंलाई एक दक्षिणपन्थी आतंककारी सञ्जाल द अर्डर अफ नाइन एन्जल्स सँग सम्बन्धित व्यक्ति भनेर चिनाएका छन् ।
उनीमाथि उनकी आमा ३५ बर्षीया तातियाना कसाप र ५१ बर्षीय सौतेनी बुवा डोनाल्ड मेयर को हत्या गरेको अभियोग लागेको छ ।
वाउकेशा काउन्टी शेरिफ विभागका अनुसार उनी फेब्रुअरी २८ मा पक्राउ परेका हुन् । प्रहरीले मिलवाकीको दक्षिणपश्चिममा पर्ने वाउकेशा सहरस्थित उनको घरबाट दुई शव फेला पारेको थियो ।
संघीय अदालतमा सार्वजनिक गरिएका कागजातअनुसार कसापले राष्ट्रपति ट्रम्पको हत्या गरेर अमेरिकामा राजनीतिक क्रान्ति ल्याउने सपना देखेका थिए ।
उनी आंशिक रूपमा ड्रोन र विस्फोटक पदार्थ किन्न रकम खर्च गरिरहेको प्रमाण पनि प्रहरीले फेला पारेको छ ।
उनको फोनमा हिटलरको प्रशंसा, बम बनाउने निर्देशनहरू र राष्ट्रपतिको हत्या गरिए अराजकता फैलिने सुचनाहरु खोजिएका सन्र्दभहरु भेटिएका छन ।
राष्ट्रपति र सायद उपराष्ट्रपतिको पनि अन्त्य गर्दा अवश्य अराजकता आउँछ उनले लेखेका भेटिएको प्रहरीको भनाई रहेको छ ।
कसापमाथि सुरूमा हथियार राखेको र चोरीको आरोप लगाइएको थियो । तर पछि उनी विरुद्ध दुईवटा पहिलो श्रेणीको हत्या अभियोग, दुईवटा शव लुकाउने अभियोग र अन्य धेरै फौजदारी अभियोग लगाइएको छ ।
उनीमाथि मे ७ मा अदालतमा अभियोग पुष्टि गरिने अधिकारीहरुले बताएका छन ।
यो घटना अमेरिकी इतिहासकै एउटा गम्भीर आतंकपूर्ण षड्यन्त्रको रूप लिएको छ । यो घटनामा एक किशोरले राष्ट्रपतिको हत्या गर्ने योजनाको लागि आफ्नै अभिभावकको ज्यान लिएका छन् ।
घटनाले अमेरिकी सुरक्षाका चुनौती र घरेलु आतंकवादको बढ्दो खतरा बारे गम्भीर बहस सुरु गराएको छ ।