नववर्ष २०८२ प्रारम्भ, समीक्षा र संकल्पको दिनको रुपमा मनाइदै
प्रकाशित मिति : बैशाख १, २०८२ सोमबार

आज सोमबार विक्रम संवत् २०८२ साल वैशाख १ गते । नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।
सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो ।
सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउनुहुन्छ ।
कलि युग सुरु भएको ३ हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो । हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् ।
बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मठ मन्दिरमा गई पूजा आराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।
विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् । नयाँ वर्षको स्वागत र पुरानो वर्ष २०८१ को विदाईमा विभिन्न शहरमा रातभर विभिन्न कार्यक्रम भएका छन ।
राष्ट्रपति , प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरुले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना दिनुभएको छ ।