पारस्परिक कर सम्बन्धी नीतिबाट अमेरिका फर्कनुको विकल्प नभएको चीनको भनाई


प्रकाशित मिति : बैशाख १, २०८२ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पारस्परिक कर सम्बन्धी निर्णयप्रति चीनले कडा प्रतिक्रिया दिएको छ ।

ट्रम्प प्रशासनले स्मार्टफोन, कम्प्युटर लगायतका इलेक्ट्रोनिक सामानहरूमा लाग्दै आएको कर हटाउने घोषणा गरेपछि चीनको औपचारिक प्रतिक्रिया आएको हो । यो छुट पाउनेमा चीनबाट आयात हुने सामानहरू पनि समावेश छन् ।

चीनको वाणिज्य मन्त्रालयले वक्तव्य जारी गर्दै अमेरिकाले आफ्नो गल्ती सुधार्न ठूला कदम चाल्नु पर्ने बताएको छ । पारस्परिक कर अर्थात रेसिप्रोकल ट्यारिफलाई गलत नीति भन्दै चीनले पूर्ण रूपमा खारेज गर्न र आपसी सम्मानको सही बाटोमा फर्किन अमेरिकासँग आग्रह गरेको छ ।

ट्रम्पको यो ट्यारिफ नीति सार्वजनिक भएपछि विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रहरू अमेरिका र चीन—बीच ‘ट्यारिफ युद्ध’ चर्किएको छ ।

यद्यपि, अमेरिकाका वाणिज्य मन्त्री हॉवर्ड लुटनिकले यी छुटहरू अहिलेका लागि अस्थायी मात्र भएका बताएका छन ।

राष्ट्रपति ट्रम्पले अप्रिल २ मा भारतसहित थुप्रै मुलुकहरूबाट आयात हुने सामानहरूमा रेसिप्रोकल ट्यारिफ लागू गर्ने घोषणा गरेका थिए ।

यद्यपि, चीनलाई लक्षित गर्दै ट्रम्पले ट्यारिफ दर १४५ प्रतिशतसम्म पुर्याएका छन् । अन्य देशहरूलाई भने ९० दिनको अस्थायी राहत दिँदै ट्यारिफ १० प्रतिशतमा झारिएको छ ।

चीनले यस नीतिलाई गलत भन्दै अमेरिकालाई पुनर्विचार गर्न आग्रह गरेको हो ।

चीनको भनाइ अनुसार यस्तो व्यवहारले व्यापारिक सम्बन्ध बिगार्नेछ र आपसी विश्वासमा गम्भीर असर पार्नेछ ।

राष्ट्रपतिको रुपमा दोस्रो कार्यकाल सुरु गरेपछि ट्रम्पले कर आयात कर नीतिलाई प्रमुख हतियार बनाएका छन । उनले आयात करले अमेरिकी उत्पादनलाई बढवा दिने र रोजगारीका अवसर बढाउने दावी गर्दै आएका छन ।

अमेरिकी कर नीतिको कतिपय देशहरुले प्रतिरोध कर लगाउदै विरोध गरेका छन । अमेरिकी कर नीतिका विरुद्ध अन्तिमसम्म लड्ने भनेर चीनले प्रतिरोध कर लगाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com