चीनमा चिप निर्यात गर्न प्रतिबन्ध लगाएपछि अमेरिकी निर्माता कम्पनीलाई ५.५ बिलियन डलर घाटा
प्रकाशित मिति : बैशाख २, २०८२ मंगलबार

चिप निर्माता कम्पनी नभिडिया ले चीनमा निर्यात प्रतिबन्धका कारण ५.५ बिलियन डलर घाटा बेहोर्नु पर्ने बताएको छ ।
अमेरिकी सरकारले एचटुओ एआई चिप चीनमा पठाउन अब अनिवार्य अनुमति आवश्यक पर्ने नियम लागू गरेपछि कम्पनीलाई यो ठूलो घाटा हुने भएको हो ।
एचटुओ चिप चीनमा नभिडियाको सबैभन्दा लोकप्रिय उत्पादनमध्ये एक मानिन्छ ।
यो नियम लागू हुनुको कारण चीन र अमेरिकाबीच चर्किंदो व्यापार युद्ध हो । दुबै मुलुकले विभिन्न सामानहरूमा एकअर्कामाथि उच्च महसुल लगाएका छन्।
अहिले नभिडियाको सेयर मूल्य ६ प्रतिशत ले घटेर ट्रेडिङमा झरेको छ ।
चिप चीन र हङकङ मा बेच्नको लागि अनुमति लिनुपर्ने प्रावधान नभिडियाले अमेरिकी सरकारबाट गत साता मात्रै जानकारी पाएको बताएको छ ।
सरकारले कम्पनीलाई यो नियम लामो समय रहन सक्ने बताएको छ ।
सरकारको यस निर्णयको उद्देश्य चीनमा सुपरकम्प्युटिङमा प्रयोग हुने सम्भावना रहेको उत्पादनहरूलाई रोक्नु हो। यसबारे थप जानकारी दिन नभिडियाले अस्वीकार गरेको बताएको छ ।
काउन्टरपोइन्ट रिसर्चका मार्क आइन्स्टाइनले ५.५ बिलियन डलर घाटा पूर्वानुमानअनुसार नै रहेको बताए । उनले यो ठूलो रकम हो तर नभिडियाजस्तो कम्पनीले यसलाई झेल्न सक्छ भनेका छन ।
तर उनले यो निर्णय “वार्ताका लागि दबाब दिने रणनीति” समेत हुन सक्ने भन्दै निकट भविष्यमा केही छुट या नीति परिवर्तन हुन सक्ने अनुमान गरेका छन् ।
चिप उत्पादन अहिले अमेरिका र चीनबीचको प्रविधि प्रतिस्पर्धाको केन्द्र बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस क्षेत्रमा व्यापक सुधार ल्याउने प्रयास गरिरहेका छन् ।
नभिडियाको एआई चिपहरू हाल अमेरिकी निर्यात नियन्त्रणको प्रमुख केन्द्रमा परेका छन् । १९९३ मा स्थापित नभिडिया सुरुवातमा गेमिंग ग्राफिक्सको लागि चिप बनाउने कम्पनी थियो ।
तर पछि मेसिन लर्निङ को उपयोगका लागि विशेष फिचर थप्न थालेपछि यो कम्पनी एआई प्रविधिमा क्रान्ति ल्याउने अग्रणी कम्पनीका रूपमा परिचित भएको थियो ।