क्यालिफोर्नियाका गभर्नरद्वारा ट्रम्पले लगाएको आयात करका विरुद्ध मुद्दा दायर
प्रकाशित मिति : बैशाख ३, २०८२ बुधबार

अमेरिकाको क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले राष्ट्रपति ट्रम्पका आयात करहरुका विरुद्ध मुद्दा दायर गरेका छन ।
क्यालिफोर्निया राज्यका गभर्नर गेभिन न्युसमले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका ट्यारिफ (आयात कर) हरूविरुद्ध मुद्दा दायर गरेका हुन । आयात करले विश्वव्यापी व्यापारमा ठूलो असर पारेको देखिएको छ।
अमेरिकी राज्यले संघीय ट्यारिफहरूविरुद्ध कानुनी कारबाही थालेको यो पहिलो पटक हो । न्युसमको मुद्दाले ट्रम्पले प्रयोग गरेको आपतकालीन शक्तिको प्रयोगलाई चुनौती दिएको छ।
क्यालिफोर्निया विश्वकै पाँचौं ठूलो अर्थतन्त्र हो । जसले सबै अमेरिकी राज्य र धेरै देशहरूलाई आर्थिक हिसाबले उछिनेको छ । यो राज्य अमेरिकाको सबैभन्दा ठूलो कृषि र निर्माण उत्पादनको केन्द्र पनि हो ।
तर ह्वाइट हाउसले मुद्दालाई खारेज गर्दै ट्रम्प प्रशासनले अमेरिकी उद्योगहरू ध्वस्त पार्ने राष्ट्रिय आपतकालको सामना गर्न ट्यारिफ आवश्यक भएको दाबी गरेको छ ।
ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले क्यालिफोर्नियाको अपराध, बेघरको समस्या र महँगो जीवनको समस्यामा ध्यान दिनुको सट्टा गभर्नर न्युसमले राष्ट्रपति ट्रम्पका ऐतिहासिक कदमहरू रोक्न समय खर्चिरहेका आरोप लगाएका छन ।
न्युसम र क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोंटाले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै बदामको खेतीमा आयोजित कार्यक्रममा मुद्दाको घोषणा गरेका थिए ।
क्यालिफोर्निया विश्वका ८२ प्रतिशत बादाम उत्पादन गर्ने राज्य हो । यो अमेरिका भित्र आर्टिचोक, अञ्जिर, जैतुन, अखरोट र किस्मिसको एकमात्र उत्पादक राज्य पनि हो ।
न्युसमले ट्यारिफहरूले क्यालिफोर्निया राज्यलाई असमान रूपमा असर पारेको बताएका छन । जनवरीदेखि ट्रम्पविरुद्ध १५ वटा मुद्दा दायर गरिसकेका छौं, अब पनि नेतृत्व गर्दैछौं उनले भनेका छन ।
आपतकालिन शक्ति ऐनलाई ट्यारिफ लगाउने उद्देश्यका लागि कहिल्यै प्रयोग नगरिएको र यस्तो शक्ति अमेरिकी संसदसँग मात्र रहेको मुद्धामा दावी गरिएको छ ।
न्युसमले यदि सर्वोच्च अदालतले आफूलाई पहिलेका फैसलामा जस्तै संगत राख्छ भने यो मुद्दा क्यालिफोर्नियाका लागि निश्चित जित हो भनेर दावी गरेका छन ।