मस्कले रोजेका आईआरएस प्रमुखलाई हटाउन ट्रम्प सहमत


प्रकाशित मिति : बैशाख ६, २०८२ शनिबार

अमेरिकामा आन्तरिक राजस्व सेवा ( आईआरएस ) मा नेतृत्व परिवर्तन भएको छ । कार्यवाहक प्रमुख ग्यारी श्याप्ली लाई पदबाट हटाइएको छ । उनले केही दिनअघि मात्र पद सम्हालेका थिए ।

वित्तमन्त्री स्कट बिसेन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरी श्याप्लीको नियुक्ति आफूलाई जानकारी नदिई एलन मस्कको निर्देशनमा गरिएको बताएका थिए ।

राष्ट्रपति ट्रम्पले बिसेन्टको सिफारिसमा सहमति जनाउँदै उक्त निर्णय फिर्ता लिएका छन् ।

अब डिपुटी ट्रेजरी सेक्रेटरी माइकल फलकेंडर नयाँ कार्यवाहक प्रमुखका रूपमा नियुक्त भएका छन् । आन्तरिक राजस्व सेवामा पुनः विश्वास फर्काउनु पर्ने जिम्मेवारी उनलाई दिइएको छ ।

माइकल फलकेंडर अहिलेको परिस्थिति सम्हाल्न उपयुक्त व्यक्ति भएको वित्तमन्त्री बिसेन्टले दावी गरेका छन । श्याप्लीले विगतमा हंटर बाइडन कर चोरी प्रकरण सम्बन्धमा अनुसन्धान गरिरहेका थिए ।

उनी सन् २०२२ मा उक्त मुद्दामा अनियमितता उजागर गर्ने व्यक्तिको रूपमा चर्चामा आएका थिए । मार्च महिनामा उनलाई आपराधिक अनुसन्धान विभागको उपप्रमुख बनाइएको थियो ।

एलन मस्क र वित्तमन्त्री बिसेन्टबीच केहिदिन सार्वजनिक रूपमा मतभेद देखिएको थियो ।

मस्कले एक्स मा पोस्ट सेयर गर्दै बिसेन्टप्रति सन्देहपूर्ण टिप्पणी गरेका थिए । ट्रम्पले भने मस्कले कहिल्यै आफूलाई व्यक्तिगत फाइदाका लागि केही माग नगरेको बताउदै आएका छन ।

आन्तरिक राजस्व सेवामा ठूलो संख्यामा मानव संसाधन, कर्मचारी व्यवस्थापन, र प्राविधिक बाहेकका अन्य विभागहरूलाई “गैर आवश्यक” घोषणा गर्दै कटौती गरिएको छ ।

राष्ट्रपति ट्रम्पले आन्तरिक राजस्व सेवा को स्थायी प्रमुखका रूपमा बिली लङ लाई मनोनयन गरेका छन् ।

यो नेतृत्व फेरबदल ट्रम्प प्रशासनले संघीय सरकारलाई “पुनः कुशल र खर्च कम” बनाउने प्रयासको हिस्सा हो । तर, यसले कर प्रशासनमा पार्ने दीर्घकालीन प्रभावबारे विश्लेषकहरू भने चिन्तित छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com